मकवानपुर । जनरल इन्स्योरेन्स कम्पनी नेपालको ३० लाख कित्ता आईपीओ आजबाट विक्री खुला भएको छ ।
कम्पनीले ३० लाख कित्ता साधारण शेयर मध्य १ लाख २० हजार कित्ता कर्मचारीको लागि, १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेकोछ । साथै आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सि–आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट आवेदन गर्न सक्नेछन् ।
कम्पनीले निष्कासन गरेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषत भन्दा तल रहेको देखाउँछ । हाल कम्पनीको चुक्तापूँजि रू. ७० करोड रहेको छ । आईपीओ निष्कासन बाँडफाँट पश्चात पूँजि रू. १ अर्ब पुग्नेछ ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्नको लागि कम्पनीले भदौ २४ गते अनुमति पाएको थियो । हालसम्ममा कम्पनीले ३९ ओटा शाखा कार्यालयहरुबाट बीमा सेवा दिंदै आएको छ ।