- शम्भु प्रसाद भट्टराई
१
बुढिनु अभिशाप होइन वरदान हो
छन्द: मालिनी
“दिनकर पनि लागे वैलिदै पश्च-भाग
जबर-मन हरायो घट्न थाल्दैछ राग
नरम‚ मधु कुराको चाहना लाग्न थाल्यो
विचलित मन सोच्ला “कालले पाल हाल्यो” ।१।
धरमर हुन लागे काममा हातपाउ
अलिकति पनि मेरो छैन वास्ता न भाउ
कदम दम बिनाको हिड्न मान्दैन धेर
प्रतिदिन नमजाले काल जाँदैछ खेर ।२।
अलिक मन हिजोको जग्जगी संझिराख्छ
तुजुक पनि थियो त्यो संझदा स्वाद लाग्छ
अब त छ दुनियाँ यो कष्टको रुग्ण घाउ
हरि भजन छ राम्रो ईशकै भक्ति गाउँ ।३।
स्वर पनि मधुरो भो लाग्न छाड्यो बतास
तनमन गलिराख्ने बढ्न थाल्यो हतास
वदन दनदनाई दन्दनी बल्न थाल्छ
सयन चयन लुट्ने देह यो व्यर्थ गाल्छ।४।
नयन धुमिल हुन्छन् घाममा हेर्न हुन्न
रसमय दुनियाँको दृष्य देख्दा नि छुन्न
अलिकति पनि सानो कानले सुन्न छाड्यो
बुढिनु पनि नराम्रो मान्दछन् व्यर्थ घाँडो” ।५।
जब मन यति सोच्दै व्यर्थमा दिक्क मान्छ
दुखित मन गरेमा देह त्यो खेर जान्छ
नगर न अति शंका बाँच्न जाने मजा छ
जनमभर रचेको साथमा सिर्जना छ ।६।
नभन न बुढिएमा दु:खमा बाँच्नुपर्छ
सुदृढ मन गराई जिन्दगी साँच्नुपर्छ
नियमित खुस राख्ने योग वा ध्यान हुन्छन्
जिवित रहन चाहे ईशले साथ दिन्छन् ।७।
शुभ मन भइराखे मिल्छ सापेक्ष उर्जा
गतिविधि गरिराखे देहको चल्छ पुर्जा
जति जति गति दिन्छौं मिल्छ आरोग्य‚ शान
बुढिनु छ अझ राम्रो बोझ मान्दै नमान ।८।
२
लोभ र स्वार्थ
छन्द: उपजाति
जो स्वार्थ वा लोभ जपेर हिड्छ
रिट्ठो बिराउन्न असाध्य पिर्छ
जान्दैन कैल्यै सहयोग गर्न
बिर्सन्न आफ्नो अनि जेब भर्न ।१।
कर्तव्य बारे गफ मात्र झार्छ
गर्नुपरे काम‚ सरक्क सार्छ
नाफा हुने मार्ग सबै ऊ देख्छ
बाधा छ के? बुझ्छ‚ सरक्क छेक्छ ।२।
सारा कुरामा अघि स्वार्थ सर्छ
जे गर्छ त्यो लोभ बढेर गर्छ
सम्बन्धको ख्याल कतै गरिन्न
यो लोभको पात्र मरे भरिन्न ।३।
बिर्सन्छ आफ्नो जब स्वाभिमान
स्वार्थी बनी त्याग्छ इमान‚ मान
यो रोग हो अर्बुद बढ्छ-बढ्छ
समाजमा पस्छ‚ विनास गर्छ ।४।
गर्दैन वास्ता गरिमा र मान
मान्दैन अर्ती‚ विधि वा विधान
पैसा भए बेच्छ सबै इमान
स्वार्थीहरुकै भजिराख्छ नाम ।५।
स्वार्थीसँगै संगत गर्न थाल्छ
कर्तव्य‚ आफ्नोपन पूर्ण फाल्छ
हुँदैन केही पहिचान‚ जात
षड्यन्त्रले जे पनि पार्छ हात ।६।
स्वार्थी सधै खान्छ‚ खुवाइदिन्छ
भेटे इमान्दार रुवाइदिन्छ
ढुङ्गो भए तापनि ऊ पगाल्छ
लोभीहरुकै मन जित्न थाल्छ।७।
मीठा कुरा गर्दछ‚ सत्य लाग्छ
सोझा इमान्दार चिनेर ताक्छ
सुत्छन् सबै यो अनि मात्र जाग्छ
उल्ट्यो भने झट्ट बिहान डाक्छ ।८।
दुष्कर्म गर्ने गतिलो हिया छ
जस्तै ठुलाको पनि भित्रिया छ
भेट्यो भने जीवनसुद्ध खान्छ
भनिन्छ यो देशसमेत धान्छ ।९।
नेपाली छन्दमा दख्खल राख्ने विराटनगर निवासी भट्टराई नेपाल सरकारकाे सेवा निवृत्त कर्मचारी हुन् ।