मकवानपुर । कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको चुनाव रोक्न सर्वोच्चमा मुद्दा दर्ता भएको छ । नेपाल मधेसी निजामती कर्मचारी मञ्चले निजामती कर्मचारीहरुको आउदो असोज २४ गते हुने निर्वाचन रोक्न मुद्दा दायर गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, श्रम विभाग र निजामती कर्मचारीहरूको आधिकारीक ट्रेड युनियन, प्रमुख निर्वाचन अधिकृतको कार्यालयलाई विपक्षी बनाइ मञ्चले मुद्दा दर्ता गरेको हो ।
मञ्चले थ्रेस होल्ड १० प्रतिशतबाट झारेर तीन प्रतिशत कायम गर्नुपर्ने, स्वास्थ्य सेवा समूह र स्थानीय तहका कर्मचारीलाई मतदानबाट वञ्चित गराउन नहुने, संघीय कानून नै नबनिसकेको अवस्थामा चुनाव हुन नसक्ने र कोरोना संक्रमणका कारण प्रचार प्रसार गर्न अफ्ठेरो हुने भएकोले सरकारले असोज २४ गतेलाई तोकेको निर्वाचन रोक्न मुद्दा हालेको हो मन्चले बताएको छ । सर्वोच्चका मुख्य रजिष्टारको तोक आदेशमा दर्ता भएको रिटको सुनुवाइ असोज ६ गते मंगलबारलाई तोकिएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले चुनावी तयारीलाई तीव्रता दिएको छ । देशैभर स्थापित एक सय सात वटा निर्वाचन अधिकृतको कार्यालयबाट चुनावका लागि आवश्यक सबै तयारीहरू पुरा भइसकेको बताइएको छ ।