मकवानपुर /कोरोना भाइरसको सम्बन्धमा विभिन्न तहका व्यक्तिहरुको फरक फरक बुझाइको कारण समस्या भएको भन्दै सबैको समान बुझाइ हुन आवश्यक भएको बताइएको छ ।
महामारीमा वैकल्पिक शिक्षण सिकाईलाई प्रभावकारी बनाउनतर्फ पनि सवाल उठाइएको छ । राष्ट्रिय बजेटको कम्तीमा २० प्रतिशत बजेट कोभिड रेस्पोन्सकै सन्दर्भमा शिक्षामा लगानी गरि विभिन्न माध्यम रेडियो, टेलिभिजन, भर्चुअल तथा डोर टु डोर विधिलाई प्रभावकारी कार्यन्वन गर्नु पर्ने साथै शिक्षामा एकरुपता ल्याउन शिक्षा र स्वास्थ्यलाई राष्ट्रियकरण गरिनु पर्ने माग गरिएको छ ।
डेक नेपालकाे तथा नागरिक समाज मञ्च मकवानपुरकाे आयाेजनामा पारस्परिक जवाफदेहिताका लागी साझा सभा रेडियो बहस कार्यक्रममा शिक्षा, स्वास्थ्य र विपदबारे बहस गरिएको हो । कार्यक्रममा कोभिड रेस्पोन्सको सन्दर्भमा तीन तहको सरकारलाई स्पष्ट कार्यविभाजन गरिनु पर्ने, क्वारेन्टाईन, आईसोलेशन तथा आईसियु सञ्चालन गर्ने विषयमा सम्बन्धित पक्षको ध्यानाकर्षण हुनु गराउनु पर्ने, कोभिड रेस्पोन्सका सन्दर्भमा निर्वाचित जनप्रतिनिधि मात्र नभई स्थानीय तहमा सरकारी प्रतिनिधि सम्मिलित संकट व्यवस्थापन, अनुगमन तथा सचेतिकरण समिति निर्माण गरि स्वास्थ्य सुरक्षाका प्रोटोकल प्रभावकारी रुपमा व्यवहारमा लागु भए नभएको एकिन गरि थप प्रभावकारी बनाउने लगायतका सवाल उठाइएको थियो ।
कोरोना संक्रमणपछि वैकल्पिक सिकाइ प्रभावकारी बनाउन सबै स्थानमा नेटको सुविधा नभएको समस्या भएको बताइएको छ । नेट उपलब्ध भएकाहरुका लागी पनि सबैसँग एण्ड्रोइड मोबाईल वा ल्यापटपको उपलब्ध नभएकोले सिकाइलाई उपलब्धिमुलक बनाउन नसकिएको सहभागिहरुले बताएका हुन् । केही सामुदायीक विद्यालयले समुदाय स्तरमा पुगेर पठनपाठन गरे गराएको भएता पनि सबै स्थानमा पुग्न असमर्थ भएकोले एउटै विद्यालयका विद्यार्थीहरुमा पनि विभेद गरिएको जस्तो भएको सवाल बहसमा उठाइएको थियो ।
शहरी क्षेत्रमा होम आईसोलेशनको संभावना भएता पनि ग्रामिण भेगमा प्राय घरहरुमा सगोल बसाई हुने भएकोले अलग बस्न समस्या भएकोले ग्रामिण भेगका स्थानीय तहहरुले आईसोलेशनको व्यवस्थापन गर्नु पर्ने माग गरिएको छ । कहिले सरकारी विद्यालयलाई क्वारेन्टाईन बनाउने त कहिले अब शिक्षण कार्य सुरु गर्ने जस्ता पटक पटक फरक निर्देशन प्राप्त हुदाँ कार्य गर्न असहज बनेको बताइएको थियो ।
महामारी लकडाउनको अवस्थमा महिला तथा बालबालिका विभिन्न प्रकारको हिंसाबाट प्रभावित भएको,विद्यालय वन्द भएका कारण ग्रामिण भेगका किशोर किशोरीहरु मागी तथा भागी विवाह गर्ने गरेको, जिम्मेवार निकाय र जिम्मेवार व्यक्तिको अभिव्यक्तिका कारण कोरोना फैलिन मद्दत पुगेको, राहतको नाममा आर्थिक अनियमितता भएको , स्थानीय तहमा सरकारी तथा नागरिक र नागरिक संघसंगठन सम्मिलित संकट व्यवस्थापन तथा अनुगमन र सचेतिकरणका लागि समिति निर्माण गर्नु जस्ता सवालमा बहस गरिएको थियो ।
यसैगरी कोरोना पोजिटिभ देखिएका तथा पोजिटिभ देखिएर पनि नेगेटिभ देखिएकाहरुका लागी घर परिवार तथा छरछिमेकबाट अछुतोको व्यवहार गर्ने गरिएको,कोरोना पोजिटिभ भएका घरपरिवारमा सिल गर्ने लगायतका कार्यले आतंकित र भयभित बनाउने अवस्था भएकोले त्यसलाई सहजीकरण तर्फ लग्नु पर्ने बताइएको छ ।

राष्ट्रिय सभा प्रत्यायोजित आश्वासन समितिका सभापति रामनारायण विडारीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्यहरु प्रेम बहादुर पुलामी,जुनेली श्रेष्ठ,जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, राक्सीराङ् गाँउपालिकाका अध्यक्ष राज कुमार मल्ल, भिमफेदी गाँउपालिकाका उपाध्यक्ष पार्वती राना,स्वास्थ्य कार्यलय मकवानपुरका प्रमुख प्रणय उपाध्याय, शिक्षा समन्वय एकाई मकवानपुरका प्रमुख लिलानाथ गौतम,बागमती प्रदेश वालअधिकार समिति सदस्य झविन्द्र ज्ञवाली,रेडक्रस मकवानपुरका उपसभापती लाल बहादुर थापा,गैसस महासंघ बागमती प्रदेश उपाध्यक्ष आरती पाठक, शिक्षाका लागी राष्ट्रिय अभियान बागमती प्रदेशका संयोजक प्रकाश खतिवडा,नागरिक तथा नागरिक संघसंगठनका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
हेटौंडाको रेडियो थाहा संचारले बहस कार्यक्रमको प्रत्यक्ष प्रशारण गरेको नागरिक समाज मञ्च मकवानपुरका संयोजक तथा गैसस महासंघ मकवानपुरका कावा अध्यक्ष रमिला सापकोटाले बताइन् ।