मकवानपुर । आज संविधान दिवस । नेपालको संविधान, २०७२ जारी भएको पाँच वर्ष पूरा भएको छ। नेपालको इतिहासमै नेपाली नागरिक सहभागी भएर निर्वाचित संविधान सभाले २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो।
संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई मानपदवी, अलङ्कार र पदकद्वारा सम्मानित गरिएको छ। राष्टपति विद्यादेवी भण्डारीबाट मन्त्रिपरिषद्काे सिफारिसमा ५ सय ९४ जनालाई मानपदवी अलङ्कार र पदकद्वारा सम्मानित गरिएको छ।
मानपदवीतर्फ सु-प्रसिद्ध प्रवल जनसेवा प्रथम १, प्रसिद्ध प्रवल जनसेवा द्वितीय ४, सुकीर्तिमय राष्ट्रद्वीप तृतीय ७, सुप्रवल जनसेवा तृतीय ८७, कीर्तिमय राष्ट्रद्वीप चतुर्थ ८, प्रवल जनसेवा श्री चतुर्थ २ सय ४२ र जनसेवा श्री १०४ जना गरी जम्मा ४ सय ५३ जनालाइ सम्मानीत गरिएकाे छ। यस्तै विभिन्न विभूषणसहितको अलङ्कार १ सय १४ र पदक २७ जनाले प्राप्त गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिए।
यो वर्ष सुप्रसिद्ध प्रबल जनसेवा श्री(प्रथम) बाट चिकित्सक डा. सन्दुक रुइट र सुप्रसिद्ध प्रबल जनसेवा श्री(द्वितीय) न्यायाधीश दीपकुमार कार्की, पूर्वप्रमुख आयुक्त नवीन कुमार घिमिरे, प्रधान सेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई सम्मानित गरिएको छ।
यस्तै, सुकीर्तिमय राष्ट्रदीप(तृतीय)बाट आयुक्त डा. गणेशराज जोशी, वनस्पतीविज्ञ डा. तीर्थबहादुर श्रेष्ठ, सचिव केदार बहादुर अधिकारी, मुख्य अनुसन्धान निर्देशक गणेश प्रसाद अधिकारी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल र नापी विज्ञ बुद्धि नारायण श्रेष्ठसमेत सात जनालाई सम्मानित गरिएको छ।
२ सय ८९ कैदीबन्दीको कैद माफी मिनाहा
यसै गरी राष्ट्रपति भण्डारीले संविधान दिवसको अवसरमा २ सय ८९ कैदीबन्दीको कैद माफी मिनाहा गरेकी छिन् । कैदीको कैद भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरिएकाे हाे ।
नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संविधान दिवसकाे अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महान् दायित्व हाम्रो काँधमा आएको बताएकी छन्।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले संविधान दिवसको यस दिनले समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवम् मान्यता कार्यान्वयन गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेकी छन् ।
शुभकामना सन्देश

