मकवानपुर /प्रहरी कर्मचारीहरुसँग सम्बन्धित गुनासो सुनुवाई गरी सेवा प्रभावकारी बनाउने तयारी गरिएको छ ।नागरिकबाट गुनासो तथा सुझाव संकलन गरी प्रहरी सेवालाई थप प्रभावकारी बनाउन यो कार्य सुरु गर्न लागिएको हो । गुनासो तथा सुझाव संकलन पेटिका बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेशको सबै जिल्लाको सबै स्थानीय तहहरुमा गुनासो पेटिका राख्न लागेको हो ।
प्रदेशका हरेक स्थानीय तहमा प्रहरी कर्मचारीबाट सम्पादन भएका कामसँग सम्बन्धित स्थानीय जनताको गुनासो सुन्ने व्यवस्था गर्न लागिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सुदीप गिरीले जानकारी दिए ।
बागमती प्रदेशको राजधानीमा रहेको प्रदेशको एक मात्र उपमहानगरपािलका हेटौंडा उपमहानगरपालिका कार्यालयमा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख बसन्तकुमार लामाले सुझाव संकलन पेटिका राख्ने र अरु जिल्लाका स्थानीय तहमा सम्बन्धित जिल्लाका प्रहरी कार्यालय मार्फत राख्ने तयारी गरिएको प्रवक्ता गिरीले बताए । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले नागरिकहरुबाट प्रहरी कर्मचारीसँग सम्बन्धित गुनासो तथा सुझाव संकलन गरी प्रहरी सेवालाई थप प्रभावकारी बनाउन प्रदेश भरीका स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका
राख्ने निर्णय अनुरुप सम्पुर्ण तयारी गरिएको हो । प्रहरी कार्यालयका साथै प्रहरी कर्मचारीहरुबाट सम्पादन भएका कामकारबाहीको सम्बन्धमा आम नागरिकबाट प्राप्तक हुने सल्लाह, सुझावका साथै गुनासोलाई उचित सम्बोधन गरी प्राप्त सल्लाह सुझाव अनुरुप प्रहरी सेवालाई परिमार्जन गर्ने उद्देश्यले गुनासो तथा सुझाव पेटिका सञ्चालन सम्बन्धी कार्ययोजना समेत निर्माण
गरीएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कार्ययोजनामा उल्लेखित व्यवस्था अनुसार ३ चरणमा सबै स्थानीय तहको केन्द्र रहेको कार्यालय र वडा स्तरसम्म गुनासो तथा सुझाव संकलन पेटिका राखिने प्रवक्ता गिरीले बताए । प्रथम चरणमा महानगरपालिका, उपमहानगरपालिका र सदरमुकाममा रहेको गाउँपालिकामा, दोस्रो चरणमा सबै गाउँपालिका र तेस्रो चरणमा सबै वडा कार्यालयहरुमा गुनासो तथा सुझाव संकलन पेटिका राखिने उनले जानकारी दिए । प्रथम चरण अन्तर्गत विहीबार असोज १ गते बागमती प्रदेशका १ महानगरपालीका, १ उपमहानगरपालीका, २५ नगरपालीका र १ गाँउपालिका गरी २८ वटा स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका राखिने बताइएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमका प्रमुख सहयोगी स्थानीय निकायसँगको सहकार्यमा सञ्चालन गरिने यस योजना अन्तर्गत स्थानीय निकायहरुमा सुझाव तथा गुनासो पेटिका स्थापना गरी नागरिकहरुबाट प्रहरीसँग सम्बन्धित सूचना संकलन गर्ने कार्य गरिनेछ ।
नेपाल प्रहरीले नागरिकहरुबाट पृष्ठपोषण प्राप्तिीा लागि नागरिक सुनुवाई कार्यक्रम, सुचना अधिकृतको व्यवस्था, सम्पर्क टेलिफोन नम्बर, प्रविधिहरुको प्रयोग लगायत विभिन्न क्रियाकलापहरु सञ्चालन गर्दै आईरहेको भएतापनि सुचना संकलनका कार्यलाई थप प्रभावकारी बनाउन बागमती प्रदेश प्रहरी कार्यालयले नागरीकहरुको सहज र नियमित पहुच हुने स्थानीय निकायहरुमा प्रहरी सम्बन्धित सूचनाहरु प्राप्त गर्ने संयन्त्रको विकास गर्नु उपयुक्त हुने महसुस गरी यो कार्ययोजना तयार गरिएको बताइएको छ ।