मकवानपुर । बागमती प्रदेश सरकारले बाल विवाह मुक्त प्रदेश अभियान जारी राखेको बेला मकवानपुरको एउटा गाउँपालिकामा ८ महिनाको बिचमा ६० वटा बाल विवाह बदर गरिएको छ । अन्य १० वटा बाल विवाह भने स्थलगत अनुगमनपछि रोकिए पनि केही समयपछि नै विवाह भएको पाइएको छ ।
मकवानपुरको भिमफेदी गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा ७० वटा बालविवाह सम्बन्धि घटना दर्ता भएकोमा ६० वटा विवाह बदर भएको हेल्पलाइनले जनाएको छ । पछिल्लो समय यसै साता हुन लागेको बाल विवाह पनि स्थलगत अनुगमनपछि रोक्न सफल भएको बताइएको छ ।
पछिल्लो पटक भिमफेदी गाउँपालिका– १ का १९ वर्षीय किशोर र मकवानपुरगढी गाउँपालिका–१ की १५ वर्षीय किशोरी बिच हुन लागेको विवाह स्थलगत भ्रमणबाट रोकिएको सिविन मकवानपुरका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिए । सिविन नेपालद्धारा सञ्चालित बाल हेल्पलाइनको पैसा नलाग्ने फोन १०९८ मा उक्त बालविवाह हुन लागेको भन्ने गोप्य सूचना प्राप्त भए पश्चात् बाल विवाह रोकथामका लागि भिमफेदी–१ का वडा अध्यक्ष श्याम कुमार बल, गढि गाउँपािलका–१ का वडा अध्यक्ष आइत सिंह लो, गढी गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख मन्दिरा थापा, सिविन बाल हेल्पलाइन मकवानपुरका जिल्ला संयोजक झबिन्द्र ज्ञवाली, सामाजिक विकास मन्त्रालयका बालविवाह मुक्त प्रदेश अभियानका सहजकर्ता पबिना लामाको टोली घटना स्थलमा पुगेर विवाह रोकिएको हो ।
विवाह हुन लागेका केटा र केटी दुबै पक्षका अभिभावक र सरोकारवालाहरुको रोहवरमा टोलीबाट सहजीकरण भएको व्यापक छलफल तथा अन्तरक्रियाबाट अन्तमा दुबै पक्षले बाल विवाह नगर्ने समुदाय समक्ष प्रतिबद्धता जाहेर गरेपछि उक्त विवाह रोक्न सफल भएको गढी गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख मन्दिरा थापाले बताइन् । छलफलमा बालविवाह, यसका कानुनी प्रावधान, सचेतना तथा स्थानीय तहको बालमैत्री अभियानमा बाल विवाहले पार्ने असर तथा चुनैतिका बारेमा उपस्थिति सबैलाइ जानकारी गराइएको भिमफेदी १ वडा अध्यक्ष श्याम कुमार बलले बताए ।