मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी गैरकानूनी तवरले रु १६ करोड ७२ लाख ५६ हजार ४९६ बराबरको सम्पत्ति आर्जन गरेकाे अभियोगमा संघीय आयोजना कार्यान्वयन एकाई विराटनगरका तत्कालीन इन्जिनियर काशीप्रसाद गुग्तासहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पदीय हैसियतले उनले गैरकानूनी आर्जन गरेको सम्पत्ति श्रीमतीसहित १२ जनाको नाममा खाता खोलेर रकम जम्मा गरेको पाइएपछि मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । आयोगले गुप्ताका आफन्तहरु अन्जुकुमारी महतो, उदित नारायणप्रसाद रौनियार, चन्देश्वर महतो, धिरजकुमार गुप्ता, प्रिति कुमारी गुप्ता, डा. रचनाप्रसाद शाहा, विकासप्रसाद गुप्ता, विनयकुमार सिंह, विभा रानी, संगिता साह रौनियार र सन्तोषकुमार गुप्ताविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ ।
आयोगले १३ जना विरुद्ध १६ करोड ७२ लाख ५६ हजार चार सय ९६ विगो दावी सहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको जनाएको छ । २०३८ पुस १२ गते ओभरसियर पदबाट सरकारी सेवा गरेका गुप्ता गतवर्ष असार ५ गते सिडिई पदबाट अवकाश पाएका थिए । अनुसन्धानको क्रममा सेवामा रहँदा उनले १७ करोड ८४ लाख २६ हजार चार सय ५९ रुपैयाँ आम्दानी गरे पनि वैधानिक आम्दानी भने एक करोड ११ लाख ६९ हजार नौ सय ६२ रुपैयाँ मात्र देखिएको आयोगले जनाएको छ ।
यसैविच अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल खानेपानी संस्थान पोखरामा कार्यरत कर्मचारी कृष्णहरि वाग्लेलाई २५ हजार घुससहित नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीसँग खानेपानी उपभोग गरेबापत खानेपानी शुल्क तिर्न जाँदा विभिन्न बहानामा घुस लिएको आरोपमा प्रशासन सहायक वाग्लेलाई बिहीबार आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो ।
पोखरा महानगरपालिकाको ट्याक्सी चोक, बगर स्थित एक रेस्टुरेन्टबाट २५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिइएका वाग्लेमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।