मकवानपुर / मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाको एक वृद्धाले ३ वटा वडाबाट सामाजिक सुरक्षा भक्ता वापतको रकम बुझेको पाइएको छ । नेपाल सरकारले वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता एकभन्दा बढी शिर्षकमा लिन नपाउने नियम भएपनि स्थानीय जनप्रतिनिधि तथा कर्मचारीको मिलेमतोमा एक वृद्धाले तेहेरो सुविधा लिएको बुझिएको छ ।
यो सुविधा लिनको लागि वृद्धाका छोराले नै पदीय मर्यादा विपरीत काम गरेको प्रष्ट देखिएको छ । गाउँपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष शिवप्रसाद खनालले आफ्नी आमा ७२ वर्षीया बेदमाया खनाललाई जेष्ठ नागरिक र बिधवा भत्ता दिदै अबैध खर्च गरेको खुलेको हो । १ नम्बर वडा सहित वडा ३ र ७ बाट समेत सिफारीस लिएर तेहेरो सुबिधा लिएको बुझिएको हो । यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २७ साउन २०७७ मा उजुरी समेत दर्ता भएको छ । उक्त उजुरीबारे छानविन प्रक्रिया अघि बढेको छ अख्तियारले जनाएको छ । सचेत मनहरीका युवाहरु नामक समूहले अख्तियारमा उजुरी दिएको हो । उजुरीमा ३ वटै वडाका वडाध्यक्षहरु तथा कर्मचारीहरु लाई कारबाहीको माग गरिएको छ । यो उजुरी उपर कारबाही अगाडि बढाइएपछि घटना बाहीर आएको हो ।
उजुरीमा भनिएको छ ‘७२ वर्षीय बृद्धाले सबै मिलाउन सक्ने क्षमता नरहेपनि अहिले पदको दुरुपयोग गर्दै वडा अध्यक्षले तीनवटै वडाबाट सिफारिस दिलाउने काम गरेका हुुन् ।’ गैरकानुनी ढंगबाट एकै व्यक्तिलाई फरक फरक शिर्षकमा भत्ता दिनका लागि सहयोग गर्ने १, ३ र ७ नम्बरका वडा अध्यक्ष तथा सचिबलाई कारबाहीको माग गरीएको छ । ७२ वर्षीय बेदमायाको नागरीकता नम्बर ३२८५ बाट वडा नम्बर १ मा २००४०१११०२१९१ वडा नम्बर ३ मा २००४०११११११००४८४ र ७ मा २००४०१११०२२०९ नम्बरको व्यक्तिगत परिचय पत्र तयार पारी भत्ता लिएको बताइएको छ । उनले मनहरीमा रहेको मुक्तीनाथ विकास बैक ००००५८०३९१५ बाट २४ हजार र पि ०००५८०३९१३ बाट ८ हजार रुपियाँ बुझेको देखिएको छ ।
फरक फरक शिर्षकमा एकै व्यक्तिलाई भत्ता बारे वडा अध्यक्ष खनालले अहिले गाउँपालिकामा बैठकमा भएको बताउँदै सम्पर्कमा रहन चाहेनन् । यता वडा नम्बर ७ का अध्यक्ष ठाकुर तितुङले आफ्नो वडा बाट नभई तत्कालिन हाँडिखोला ७ अहिलेको ४ नम्बर वडाबाट सिफारीस भएको हुनसक्ने बताए । वडा नम्बर ३ मा नागरीकताको नम्बर मिलेपनि परिचय पत्रको नम्बर भने अन्य वडाको तुलनामा फरक देखिएको बताइएकाे छ ।

