मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले ‘कोरोना भाइरस केहि होईन र कोरोनाले सबै समाप्त पार्छ’ भन्नु दुवै अतिवादी सोच भएकाले त्यस्तो भ्रम त्याग्न आग्रह गरेका छन् । समुदायस्तरमै संक्रमण फैलिएपछि हेटौंडाका विभिन्न वडामा सरोकारवाला पक्षसंग भेटघाट र छलफल गर्ने क्रममा कोरोना भाइरसलाई सामान्य तरिकाले लिएर हेलचेक्रयाइँ नगर्न उनलेआग्रह गरका छन् ।
हेटौंडाका विभिन्न वडामा छलफललाई निरन्तरता दिने क्रममा आइतबार वडा नम्बर ३ का जन प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मीलगायत सँगको छलफका क्रममा उनले ‘मलाई केही हुन्न, म तन्दुरुस्त छु’ भन्ने भ्रमका कारण कोरोना भाइरसको संक्रमण झन् फैलिँदै गएकाले यस्ता भ्रम त्याग्न र स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्दै समुदायमा पनि यसबारे जनचेतना अभिबृद्धि गर्न आग्रह गरे ।
प्रमुख खुलालले कोरोना नफैलियोस् भनेर डराउनुपर्छ तर आत्तिन नहुने भन्दै बिशेष रुपमा समुदायलाई सचेत बनाउने तर्फ सबै लाग्नु पर्ने बताए । उनले घरबाहिर निस्कँदा सही तरिकाले मास्क लगाए, भिडभाडमा नगए कोरोनाबाट बच्न सकिने कुरालाई समुदायमा व्यापक रुपमा जानकारी दिनुपर्ने बताए । खोक्दा, हाच्छिउँ गर्दा र बोल्दा थुकमार्फत कोरोना भाइरसको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले खोक्दा, हाच्छिउँ गर्दा नाक, मुख छोप्न र व्यक्ति–व्यक्ति बीचको दुरी कायम राख्न समेत प्रमुख खुलालले आग्रह गरे ।

कोरोना भाइरसको संक्रमणबारे अहिले सामाजिक सञ्जालहरुमा कोरोना केही होइन भन्दै भ्रम छर्ने काम समेत हुने गरेकोले त्यस्ता कुरालाई चिर्न र सत्य कुराका बारेमा समुदायमा सचेतना अभिबृद्धि गर्न जनप्रतिनिधि, राजनैतिक दल, टोल विकास संस्थालगायतले भुमिका निर्वाह गर्नुपर्ने बताए । ‘समुदायमा जनचेतना जगाउँदै जनजीविकालाई सामान्य बनाउने तर्फ लाग्न पर्छ’ खुलालले भने ।
छलफलमा ३ नम्बर वडा अध्यक्ष रामकुमार पुडासैनीले वडामा सबैको सहकार्यमा कोरोना रोमथामको काम भइरहेको जानकारी दिए । वडा अध्यक्ष पुडासैनीले हालसम्म वडामा ५३ जनाको परीक्षण भएकोमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको र अहिले सबै संक्रमण मुक्त भइसकेको समेत बताए । उनले वडामा सबैको सक्रियतामा जनचेतना अभिबृद्धि गर्नेलगायतका काम भइरहेको जानकारी दिँदै वडामै क्वारेन्टाईन समेत सञ्चालन गरेको जानकारी दिए ।
छलफलमा वडाका स्वास्थ्य संयोजकले स्वास्थ्य सामग्रीको अभावमा काम गर्न समस्या भएको समेत
बताए । उपमहानगरपालिकाबाट पर्याप्त स्वास्थ्य सामग्री उपलब्ध नहुँदा समस्या भएको छ स्वास्थ्यकर्मीले गुनासो गरे । छलफलमा वडा सदस्यहरु बिमला बर्तौला, राधा
कुमारी बिश्वकर्मा, बसामाडी स्वास्थ्य चौकीका प्रमुख प्रकाश बर्तौला, विभिन्न राजनैतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो ।