काठमाडौं । निजामती कर्मचारी दिवसका असवरमा प्रदान गरिने सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार अाज सोमबार कुनै कर्मचारीले पाउने छैनन् । यो समेत लगातार चौथो पटक पनि निजामती कर्मचारीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार नपाउने भएकाे हो ।
पछिल्लो समय निजामती तर्फको आकर्षण घटेको मात्रै होइन, कतिपय कर्मचारीकै कारण निजामती कर्मचारीलाई हेरिने दृष्टिकोणसमेतमा असर परेको प्रशासनविद्को धारणा छ । सरकारले हरेक वर्ष भदौ २२ गते निजामती कर्मचारी दिवस मनाउँदै आएको छ । निजामती सेवा नियमावली २०५० अनुसार निजामती सेवा पुरस्कारको व्यवस्था गरिएको छ । जसमा दुई लाख रुपैयाँसहित एक जनालाई सर्वोत्कृष्ट, एक लाख रुपैयाँसहित १० जनालाई उत्कृष्ट र ५० हजार रुपैयाँसहित ३० जनालाई निजामती सेवा पुरस्कार दिने व्यवस्था निजामति नियमावलीमा छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार ३१ गते एक सूचना जारी गर्दै निजामती कर्मचारी कार्यरत सबै मन्त्रालय, सचिवालय तथा आयोगहरूलाई मातहतका कार्यालयका कर्मचारीहरू समेत समेटिने गरी श्रावण १५ गतेभित्र आइपुग्ने गरी पठाउन भनेको थियो ।
निजामति सेवा पुरस्कारको लागि नेपाल सरकारका मुख्य सचिवको संयोजकत्वमा रहने सिफारिस समितिले देशभरिबाट प्राप्त नामहरूमध्य पुरस्कृत हुने निजामती कर्मचारीको नाम सिफारिस गर्ने
गर्छ । जुन समितिमा कानुन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल सरकारले तोकेको नेपाल सरकारको कुनै सचिव (गृह मन्त्रालय) र अवकाशप्राप्त पूर्व मुख्यसचिव
हुन्छन् ।
सर्वोत्कृष्ट निजामति कर्मचारी पुरस्कार कुनै पनि कर्मचारीले नपाउनुमा छनौट संरचना नै त्रुटिपूर्ण भएको र मापदण्ड अपर्याप्त भएको कतिपयको बुझाई छ । लाखौँ कर्मचारीमा एक जना पनि सर्वोत्कृष्ट कर्मचारी नभेटिनु सिंगो निजामती प्रशासन र विशेष गरी कर्मचारी नेतृत्वका लागि लज्जास्पद हो ।
‘स्वच्छ र सक्षम निजामती प्रशासन : समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ यस वर्षको दिवस मनाइँदै छ । औपचारिक रूपमा वि.सं. २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको सम्झना स्वरूप यो दिवस मनाउन थालिएको हो ।
१७ औँ निजामती सेवा दिवसमा ४० जना कर्मचारी पुरस्कृत गरिएको छ । निजामती दिवसको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने निजामती कर्मचारीहरूलाई पुरस्कृत गर्ने परम्परा अनुसार १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारबाट पुरस्कृत गरिएको हो । प्राप्त जानकारी अनुसार उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० जना कर्मचारीहरूमा जनकराज दाहाल, सुशील कुमार लम्साल, मानबहादुर अर्याल, प्रकाश जोशी, डिलाराम पन्थी, सुरतकुमार बम, टामलाल पाण्डे, सुवास श्रेष्ठ, उषादेवी देवकोटा र धनबहादुर लामा रहेका छन् ।
त्यसैगरी ३० जना कर्मचारीलाई निजामती पुरस्कारले पुरस्कृत गरिएको छ । निजामती कर्मचारीबाट पुरस्कृत हुने रघुराम विष्ट, कुवेर नेपाली, गोपालप्रसाद रिजाल, भीमकुमार श्रेष्ठ, खोमराज कोइराला, रोशनी देवी कार्की, अञ्जनकुमार मिश्र, डा. वीरेन्द्रकुमार मिश्र, बाबुराज अधिकारी, टिकाराम ढकाल, रञ्जितकुमार भट्ट, सन्तोष निरौला, सावित्री पौडेल बेलबासे मञ्जु सिंह भण्डारी थापा, सन्तोष दर्जी, इन्दिरा ज्ञवाली, गजराज घिमिरे, नानुका पोखरेल आचार्य रहेका छन् ।
यस्तै प्रकाश प्रेमी गैरे, जयदेव विष्ट, लालबहादुर विष्ट, मनिला मादेन, सुदर्शन खनाल, शिमला श्रेष्ठ, भरतकुमार कार्की, उमेश घटवार, सरस्वतीकुमारी श्रेष्ठ, गेदलाल खत्री, कमला थापा र अनुज फुयाँल ती स्रोतले प्रशासनलाई बतायो ।
सोमबार नामावलीहरू सार्वजनिक गर्ने छ । कोरोना भाइरस सङ्क्रमणका कारण औपचारिक समारोह नगर्ने पुरस्कार समितिको निर्णयसँगै पुरस्कार पछि मात्र वितरण गरिने छ ।