काठमाडौं । बिहीबार बिहान ११ बजेका लागि तय भएको नेकपाको सचिवालय बैठक दिउँसाे ३ बजे बस्ने गरी सारिएकाे छ । नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाका बिहीबार बिहान बस्ने तय भएको बैठक दिउँसो ३ बजेका लागि सरेको हो ।
आज बस्ने बैठकमा नेकपा कार्यदलको प्रतिवेदनमाथिको छलफल हुने बताइएकाे छ । कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न भदौ १३ गते सचिवालय बैठक बोलाइएको थियो । गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल आइसोलेसनमा बस्नुपर्ने भएपछि बैठक १८ गते बस्ने गरी स्थगित गरिएको भनिए पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफलपछि बिहीबारका लागि सारिएको थियो ।
बिहीबारको बैठकमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । त्यस्तै बिहीबारको बैठक राष्ट्रिय सभाको रिक्त एक जना मनोनीत सदस्यमा कसलाई लैजाने भन्नेमा केन्द्रित हुने भएको छ। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार साँझ भएको दुई घण्टा लामो भेटमा राष्ट्रिय सभामा कसलाई लाने भन्नेमा कुरा नमिलेपछि यो विषयले प्राथमिकता पाउने भएको हो ।
प्रधानमन्त्री ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिन चाहेकाले भदौ २० गतेभित्र राष्ट्रिय सभा सदस्य बनाइसक्नुपर्छ । पार्टी अध्यक्ष दाहाल पार्टी सचिवालयको निर्णयअनुसार बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउनुपर्ने पक्षमा उभिएकाले सचिवालय बैठकमा निर्णय गरेर मन्त्रिपरिषद् बाट मनोनयनका लागि उम्मेदवार सिफारिस गर्ने सहमति अध्यक्षद्वयबीच भएको छ ।
आजको सचिवालय बैठकले लामो समयदेखि स्थगित स्थायी कमिटी बैठक पनि बोलाउन सक्ने बताइएकाे छ । नेकपा भित्रको आन्तरिक विवादका कारण लामो समयदेखि स्थायी कमिटी बैठक र सचिवालय बैठक अवरुद्ध हुँदै आएको छ । विशेष गरी नेकपा शीर्ष नेतृत्वहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री मध्ये एक पदबाट राजीनामाको माग गरेपछि विवाद चर्किँदै गएको थियो ।
अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच पटक पटक भेटवार्ता हुँदा पनि सहमति जुट्न सकेको छैन । उक्त विवाद सुल्झाउन महासचिव विष्णु पौडेलको नेतृत्वमामा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलले दुबै अध्यक्षलाई भदौ ६ गते प्रतिवेदन बुझाएको थियो ।