मकवानपुर /काठको ठेकीको लागि प्रसिद्ध जिल्ला मकवानपुरमा पछिल्लो समय काठको ठेकी पाउनै मुस्किल हुन थालेको छ । परम्परागत काठे ठेकीको स्थान अहिले प्लाष्टिक तथा आल्मुनियम ठेकीले ओगट्न थालेका छन् । गाउँघरमा समेत काठे ठेकीको बदलामा प्लाष्टिक तथा आल्मुनियमको ठेकीहरु प्रयोगमा आउन थालेका छन् ।
ठेकी काठबाट बनेको परम्परागत नेपाली भाँडो हो । दही जमाउने, दही मथ्ने (मोही पार्ने), मोही अथवा दही राख्ने काममा प्रयोग गरिन्छ । ठेकी सामान्यतः दार अथवा देवदारु नामको रूखको काठबाट बनाइन्छ । तर अहिले देशभरि काठको ठेकीको लागि प्रख्यात मकवानपुरमा नै ठेकी पाउन छाडेको छ । पछिल्लो समय गाउँका भिरपाखाहरुमा समेत काठको ठेकी बनाउने प्रजाति (दार, दरुवा) का रुख नै पाउन समस्या हुन थालेको छ । काठको ठेकी बनाउने सिपालु व्यक्तिहरु पनि पाउन छाडेको मकवानपुर गढी गाउँपालिका–६ का सूर्यप्रसाद नेपालले बताए ।
यता मकवानपुर जिल्ला भीमफेदी गाउँपालिकाका स्थानीय अगुवा हरिशरण हटुवालका अनुसार नयाँ पुस्तामा यो सिप लैजान नसकिदा यो अवस्था आएको हो । पहिले पहिले मकवानपुरको विकट गाउँमा बनेको काठको ठेकी भक्तपुर, काठमाडौं, काभ्रेलगायतको जिल्लामा प्रर्याप्त खपत हुने गरेको स्थानीय हटुवालले बताए । तर अहिले मकवानपुर जिल्लामा नै काठको ठेकी नपाउँदा स्थानीय कृषकहरू आल्मुनियम तथा प्लाष्टिकको ठेकीले काम चलाउने गर्दछन् ।
पछिल्लो समय काठको ठेकीसँगै मोही पार्ने मदानी पनि प्लाष्टिककै पाउन थालिएपछि गाउँगाउँमा काठको भन्दा प्लाष्टिककै ठेकी, मदानीको प्रयोग बढेको छ । बजारमा सर्वसुलभ रुपमा काठको ठेकी मदानी नपाएपछि आफूहरुले प्लाष्टिककै सामग्री प्रयोग गर्न थालेको मकवानपुर गढी गाउँपालिका–५ की सावित्रि खनालले बताइन् । राम्रो ठेकीको लागि जिल्ला बाहिर नै अर्डर गर्नुपर्ने र आर्थिक रुपमा पनि महङ्गो हुने उनले बताइन् । काठको ठेकीमा दही जमाउँदा मिठो र चाँडौ अमिलो तथा स्वादीलो हुज्छ ।

तर पछिल्ला पुस्ताहरु अमिलो भन्दा गुलियो दहि मन पराउने र प्लाष्टिक, स्टिललगायतको भाडामा जमाएको दही काठको ठेकीमा जमाएको तुलनामा चाँडै अमिलो नहुने भएकोले पनि काठको ठेकीको माग कम हुँदै आएको उनले बताइन् । काठलाई खोपेर बनाइने ठेकीको पेशा अंगाल्ने मान्छे नहुँदा काठको ठेकीको बजार पनि घटेको अगुवा किसान तथा मकवानपुर गढी गाउँपालिका ६ का वडाध्यक्ष टिका दाहालले बताए । मकवानपुरको ग्रामिण हाट बजारमा दैनिक २५ देखि ३० वटा ठेकी बिक्री हुने गरेकोमा अहिले हाटबजारमा ठेकी भेटिन छाडेको छ । मकवानपुरको चिनारीलाई संरक्षण गर्न परम्परागत सिपको फैलावटको लागि आफूहरुले प्रयास गर्दा पनि नयाँ पुस्ताको रुचि नपाइएको हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाले बताईन् ।