काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आइपिओ) आज साेमबार बाँडफाँट हुने भएको छ । लघुवित्तले भदौ ४ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो।
यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात् जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरूका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात् ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएको थियो। बाँकी ८० हजार ७०० कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो।
प्राथमिक शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज सोमबार बाँडफाँट गर्ने जनाएको छ। ‘समाज लघुवित्त वित्तीय संस्थाको आइपिओ आज दिउसो बाँडफाँट गरिनेछ,’ सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिम्सिनाले भने । प्राथमिक शेयर बाँडफाँट गर्नु तीन दिन अघि प्रि एलटमेन्ट गर्दै नियामक निकाय नेपाल धितोपित्र बोर्डलाई जानकारी दिनुपर्ने प्रावधान छ । सोही प्रावधान बमोजिम उसले सोमबार बाँडफाँट गर्ने भएको हो । क्यापिटलले शुक्रवार प्री एलटमेन्टको जानकारी दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ।
यस अघि क्यापिटलले शनिबार नै बाँडफाँट गर्ने तयारी गरेको थियो । तर, अघिल्लो दिन रिलायन्सको शेयर बाँडफाँट भएको कारण बाँडफाँट सार्नु परेको थियो। पछिल्लो सामय एकै पटक शेयर निष्काशन र बाँडफाँट नगराउन धिताे पत्र बाेर्डले निर्देशन दिएको छ। एकैचोटी शेयर निष्काशन र बाँडफाँट गर्दा मेरो शेयरमा बढी चाप पर्न गई वेबसाइट नै सुस्त हुने भएपछि निष्कासन र बाँडफाँटको रुटिङ अनुसार गर्न थालिएको सिडिएसीको भनाइ छ।