मकवानपुर। मदन भण्डारी फाउण्डेशन मकवानपुरले हेटौंडामा “फुड बैंक” अभियान सञ्चालन गर्ने भएको छ । कोरोना माहामारीका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका श्रमजिवी तथा विपन्न परिवारलाई लक्षित गरेर फाउण्डेसनले फुड बैङ अभियान संचालन गर्न लागेको हो ।
फाउण्डेशनले भोली सोमबारदेखि हेटौंडाको अटोल्याण्ड चोकमा फुड संकलन केन्द्र रहने गरि फुडबैंक सञ्चालन गर्न लागिएको फाउण्डेसनका जिल्ला अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए । कोरोना भाइरसका कारण उत्पन्न भएको आर्थिक संकटले धेरैको बिहान–बेलुकाको हातमुख जोर्ने माध्यम गुमेका न्यून आय भएका परिवारलाई लक्षित गरेर फुड बैंक अभियान सञ्चालन गर्न लागिएको खुलालले जानकारी दिए ।
फाउण्डेसनले सोमबारबाट “हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं” भन्ने अभियान सुरु गर्न लागेको उनले बताए । फुड बैंकमा हुनेले खाद्यान्न सहयोग गर्नुहुनेछ भने नहुनेले त्यहाँ राखेको खाद्यान्न लिएर जानुहुने छ । ‘काम गर्न नपाएर कोही पनि भोकै बस्नु नपरोस् भनेर फाउण्डेसनले सामाजिक उत्तरदायित्व स्वरुप यस्तो अभियान सञ्चालन गर्न लागेका छौं’ उनले भने–‘अभियानले आवश्यक्ताका आधारमा जिल्लामा सञ्चालनमा रहेका आइसोलेसन, क्वारेन्टाईन, बृद्धाश्रमहरुमा समेत सहयोग गर्नेछ ।’
शनिबार बिहान बसेको फाउण्डेसनको बैठकले पहिलो चरणमा हेटौंडाबाट अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त अभियान अन्तर्गत कोरोनाका कारण छाक बसेका नागरिकलाई परिवार संख्याको आधारमा सहयोग उपलब्ध गराईनेछ । त्यस्ता परिवारले एक पटकमा एक छाक टर्ने गरि दाल, चामल, नुन, तेललगायत खाद्यान्न उपलब्ध गराईने प्रमुख खुलालले बताए ।
फुड बैंक सञ्चालनका लागि आजको बैठकले ५ सदस्य फुड बैंक व्यवस्थापन उपसमिति निर्माण गरेको छ । फाउण्डेसनका सदस्य उत्तम न्यौपानेको संयोजक्त्वमा बोल बहादुर कार्की, रमिला सापकोटा, शिवहरी दाहाल, भवानी शर्मा सदस्य रहेको ५ सदस्य समिति गठन गरिएको हो ।
उक्त समितिले कार्यविधि समेत तयार गरेर सोमबारबाट काम सुरु गर्ने छ । अभियानमा नगद तथा जिन्सी दुबै सहयोग गर्न सकिने बताइएको छ ।