चितवन । चितवनका अस्पातलमा उपचाररत दुइ जनाकाे शुक्रबार मृत्यु भएकाे छ । चितवन मेडिकल कलेजमा उपचाररत एक जना महिला कोरोना संक्रमितको शुक्रबार विहान मृत्यु भएको हाे । त्यसै गरी पुष्पाञ्जली अस्पतालमा उपचाररत एक जना पुरूषकाे समेत अाजै विहान मृत्यु भएकाे छ ।
चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका १९ कि ७१ वर्षीया महिलाको विहान ६ः ५० बजे मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । उनलाई ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको र परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । उनी दम र निमोनियाको समेत बिरामी थिइन् ।
यसै गरी चितवनको पुष्पाञ्जली अस्पतालमा उपचाररच एकजना पुरूषकाे मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२ का ५१ वर्षीय पुरुषको शुक्रबार विहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
पुष्पाञ्जली अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सन्दिप पाण्डेले भेन्टिलेटरमा उपचार गर्दागर्दै बिरामीको मृत्यु भएको बताए । ती पुरुष लामो समयदेखि दमका बिरामी रहेको अस्पतालले जनाएको छ । भदौ ८ गते राति भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
चितवनमा अहिलेसम्म ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमित भएर मृत्यु हुनेमा चितवन जिल्लाका चारजना, मकवानपुरका तीनजना र कैलालीका एकजना छन् ।