मकवानपुर । हेटाैडा उपमहानगरमा सहित मकवानपुरका विभिन्न स्थानीय तहमा लागु भएकाे निषेधाज्ञा आगामी भदौ १६ गते पछि आवश्यक व्यवस्थापनका साथ स्वरुप परिर्वतन गर्नु पर्ने सराेकारवालाहरूले माग गरेका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका र मनहरी गाँउपालिकाकाे राजमार्ग क्षाेत्रमा साउन २६ गते राती बाट लागू भएकाे सहित विभिन्न स्थानीय तहहरुमा भदौ १५ गतेसम्म जारी निषेधाज्ञाको आवश्यक व्यवस्थापन गरेर खुकुलो पार्दै स्वरुप परिर्वतन गर्न जिल्लाकाे सर्वपक्षिय बैठकमा सुझाव दिइएकाे हो ।
बिहीबार जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा बसेको सर्वपक्षिय/सर्वदलिय बैठकले आवश्यक तयारी गरेर निषेधाज्ञाको स्वरुप परिर्वतन गर्न सुझाव दिएको हाे । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि आगामी कार्यदिशा तय गर्न बसेको बैठकले स्वास्थ्य सम्बन्धी मापदण्डको कार्यान्वयन व्यवस्थित गर्दै निषेधाज्ञाको स्वरुपमा परिर्वतन गर्नुपर्ने साथै निषेधाज्ञा खुकुलो पार्दै परिस्थितीलाई क्रमश सहज बनाउदै लानुपर्ने सुझाव दिएको छ ।
प्रमुख खुलालले निषेधाज्ञाको स्वरुप परिर्वतन गर्दै लानु पर्ने सबैको सुझाव आएको बताए । बैठकमा प्रमुख खुलालले सुरक्षा निकाय र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने कुरामा सबैले ध्यान दिनुपर्ने बताए । कोरोना संक्रमितलाई अपमान गर्ने काम नगर्न, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई दुर्वव्यहार नगर्न, होम आइसोलेसनमा बस्नेहरुलाई नियमको पालना गर्न, राजनैतिक दलहरुलाई सकारात्मक समाज निर्माण योगदान गर्न खुलालले आग्रह गरे । ‘सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नु अहिलेकाे आवश्यकता हाे’ उनले भने । साथै जिल्लाभरिको कोरोनाको अवस्था निर्क्याैल गर्न स्थानीय तह समन्वय बैठक तुरुन्त बस्ने समेत उनले जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेसका जिल्ला सभापति ईन्द्र बहादुर बाँनियाले समुदायमा कोरोना संक्रमण बढ्दो रहेकाले सचेत बन्नु पर्ने तर, सधैंभरी निषेधाज्ञा राख्न नहुने बताए। उनले हेटौंडाका होटलहरुलाई क्वारेन्टाई र आइसोलेसनका रुपमा प्रयोग गर्नुपर्ने, परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने, तुरुन्त रिपोर्ट आउने वातावरण बनाउनु पर्ने, जसका लागि मेसिन खरिद गर्नुपर्ने, दक्ष र भरपर्दो चिकित्सक प्राविधिकको व्यवस्था गर्नुपर्नेलगायतका सुझाव दिए । यस्तै राप्रपाका जिल्ला अध्यक्ष मधु अधिकारीले निषेधाज्ञालाई तयारी गर्ने समयका रुपमा प्रयोग गर्नु पर्ने धारणा राख्नुभयो । उहाँले स्वाब दिएकालाई बाहिर निस्कन नदिने साथै कन्ट्रयाक ट्रेसिङ प्रभावकारी बनाउनु पर्ने र कोरोना नियन्त्रणमा सबै जुट्नु पर्ने धारणा राखेका छन् । बैठकमा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाले स्थानीय तहले थुप्रै कामहरु गरेको भएपनि जस भने पाउन नसकेको बताइन ।
त्यस्तै बैठकमा नेकपा मकवानपुरका नेता एकालाल श्रेष्ठले संक्रमितको नाम सार्वजनीक नगर्दा उनिहरु बहिर हिडडुल गर्ने गरेकाले नाम सार्वजनकि गर्नुपर्ने जसले अरु व्यक्ति सचेत भएर संक्रमण हुने सम्भावना कम हुने धारणा राखेका थिए । उनले संकलन गरिएको स्वाबको तत्काल रिपोर्ट आउने वातावरण मिलाउनु पर्ने, बैंकिङ क्षेत्र सुचारु गर्नुपर्ने, बजार खुलाउने समय थप गर्नुपर्ने, बिस्तारै बजार खुकुलो पार्दै लानु पर्ने, चेतना अभिबृद्धि तर्फ लाग्नु पर्ने र मास्क प्रयोग नगर्ने तथा स्वास्थ्य सम्बन्धि अन्य मापदण्ड पालना नगर्नेलाई कारकाही गर्नुपर्ने धारणा राखेका थिए ।
पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप बिष्टले सधैंभरी निषेधाज्ञाले मात्र नहुने भन्दै निषेधाज्ञा खोल्दा बिहान ६ बजे देखि साँझ ६ बजे सम्मको सिफ्टमा उद्योगहरु संचालन गर्नुपर्ने, सार्वजनीक यातायात पुर्ण रुपमा रोक लगाउनु पर्ने, सिमा नाकामा कडाई गर्नुपर्ने, स्वास्थ्य सम्बन्धी मापदण्डको कडा रुपमा प्रयोग गर्न लगाउने साथै स्थानीय तहहरु अहिले भन्दा बढी सक्रिय रहनु पर्ने धारणा राखेका थिए । बैठकमा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले सबै कुरामा अस्पतालको मात्र भर पर्दा समस्या आएकाले सबैले मिलेर काम गर्नुपर्ने बताए ।
त्यस्तै जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले थोरै कर्मचारी राखेर सहकारीहरु सञ्चालन गर्नुपर्ने धारणा राखे । सहकारीबाटै संक्रमित फैलिने संभावना भएकाले त्यसलाई ध्यानमा राखेर थोरै कर्मचारीको उपस्थितिमा स्वास्थ्य मापदण्डको पुर्ण पालना गरेर सहकारी संस्थाहरु संचालन गर्नुपर्ने उनकाे भनाइ थियो । उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव न्यौपानेले बजारका अन्य पसलहरुलाई पनि सहज बनाउँदै लानु पर्ने सुझाव दिएका छन् । न्याैपानेले मापदण्डको परिपालना नगर्नेलाई तुरुन्त बन्द गर्नुपर्ने र बजार बिस्तारै खुलाउनु पर्ने बताए। यस्तै उद्योगसंघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले मापदण्ड बनाएर उद्योग स१चालन गर्नुपर्ने धारणा राखेका छन् । मापदण्ड नियमानुसार कायान्वयन हुनु पर्ने तर उद्योग संचालन गर्नुपर्ने उनकाे भनाई थियो ।
बैठकमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रणय उपाध्यायले कोरोना संक्रमण समुदायमै गइसकेकाले थप सजगता अपनाउनु पर्ने धारणा राखेका थिए । उपाध्यायले सधैं निषेधाज्ञा मात्र गरेर नहुने भन्दै देखिएका समस्याको समाधान गर्न तर्फ सचेत हुनु पर्ने बताए। पिसीआर गर्न स्वाब दिन भिड गर्ने तर स्वाब दिएर बजार डुल्ने प्रबृतिका कारण समस्या थपिदै गएको उनले बताए । यस्तै कन्ट्रयाक ट्रेसिङका क्रममा भेटिएको भोलिपल्टै पिसिआएका लागि जाने गरेको समेत जानकारी गराए । उनले होम आइसोलेसनमा बसेको कम्तीमा १४ देखि २१ दिनमा मात्र पिसिआरका लागि जानु पर्ने बताए । शंका लाग्ने वित्तिकै क्वारेन्टाईनमा बस्न समेत उनले सुझाव दिए । ‘लक्षण देखिएकालाई मात्र आइसोलेसनमा राख्नुपर्छ’ उनले भने ‘अनुशासन आइसोेलेसन र क्वारेन्टाई नै कोरोनाबाट बच्ने उपाए हाे ।’
प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले आएका सुझावका आधारमा आगामी कार्य तय गरिने बताए । प्राप्त सुझावहरुका आधारमा कमाण्ड पोष्टको बैठकले थप निर्णय गर्ने समेत प्रजिअ नेपालले जानकारी दिए ।