मकवानपुर/बागमती प्रदेशमा बाढी पहिरोको कारण घरबास उठेकाहरुले समस्यामा रहनु नपर्ने प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । बाढी पीडितहरुको लागि प्रदेश सरकारको जिम्मेवारी पुरा गर्न कुनै कसर बाँकी नराख्ने मुख्य मन्त्री पौडेलले बताएका हुन् । विशेषतः बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लाको बाढी पहिरोको बिषयमा भएको छलफलमा मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
तीनै तहको सरकारले गर्ने काम बाँडफाड गरेर आफ्नो तहको सरकारले गर्ने काम पुरा गर्ने उनले बताए । प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको संयोजनमा सिंहदरबारमा आयोजित विपद व्यवस्थापनका लागि सरोकारवालाबिच छलफल भएको थियो । छलफलमा मुख्यमन्त्री पौडेलले सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा आफू पुगेको र त्यस क्षेत्रको स्थिति अत्यन्तै दयनीय रहेको बताएका थिए । “त्यहाँको जमिन सबै तिर धुजाधुजा भएर फाटेको र चर्केका जमिनमा पाल टाँग्ने समेत ठाँउको अभाव छ” मुख्यमन्त्री पौडेलले भने । छलफलमा उनले त्यहाँको बस्ती सक्दो चाँडै स्थानान्तरण गर्नु पर्ने भएकोले बताए । प्रदेश सरकारले यहाँको बस्ती स्थानान्तरणको लागि पहल थालेको र यसकार्यको लागि संघीय र स्थानीय सरकारको पनि समन्वय र सहकार्य जरुरी भएको उनले बताए ।
उनले बस्ती स्थानान्तरण गर्दा रोजगारीको समेत ग्यारेन्टी गरि हुन जरुरी रहेको बताए । सिन्धुपाल्चोक जिल्लामा तीनै तहबाट जाने बजेटमा बस्ती स्थानान्तरणका लागि निश्चित बजेट छुट्टाएर कार्यान्वयनमा लैजानु पर्ने उनले बताए । छलफलमा गृहमन्त्री राम बहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, भौतिक पुर्वाधार मन्त्री बसन्त नेमवाङ,बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, संघीय सरकारका पुर्वमन्त्री शेर बहादुर तामाङ,भौतिक मन्त्रालयका सचिव, राष्ट्रिय पुननिर्माण र विपद व्यवस्थापनका प्रतिनिधिहरु प्रभावित क्षेत्रका जनप्रतिनिधिहरु एवम् सरोकारवालाहरुको उपस्थिति रहेको छलफलमा मुख्यमन्त्री पौडेलले स्थानीयवासीको सुरक्षाको लागि प्रदेश सरकारले स्थानीय र संघीय सरकारको हातेमाले आवश्यक भएको बताए ।