- निरा शर्मा
नेपालमा संस्कारगत रूपमा अभ्यासमा आएका केही गलत धारणाले नेपालीहरूको जीवनपद्धतिलाई अत्याधिक प्रभावित पारेको छ । त्यसमध्ये एक गलत धारणाको अभ्यासको रूपमा महिनावारीलाई लिन सकिन्छ । नेपालका अधिकांश महिलाहरू महिनावारी हुँदा तिनीहरूलाई अशुद्ध मानेर नछुनी भएको भन्दै बार्न लगाउने चलन छ । धर्मको नाममा लादिएको महिनावारीसम्बन्धी गलत अभ्यास नै महिलालाई दोस्रो दर्जामा राख्न र छोराको तुलनामा उनीहरूको मानप्रतिष्ठा कम गराउने प्रमुख कारक बनेको छ । लैङ्गिक विभेद सिर्जना गर्ने आधार नै महिनावारी हो । महिलाहरू सामाजिक, धार्मिक र सांस्कृतिक पक्षमापछि धकेलिनुको कारक तत्व नै महिनावारी हो । वैज्ञानिक एवम् धार्मिक सत्यताको आधार नभेटिए पनि यसको गलत उपयोगले प्राकृतिक वरदान आज अभिशाप बनेको छ।
महिनावारी महिलाको पूर्णता, आत्मगौरव एवम् स्वाभिमानको पहिचान हो । यो सृष्टिको वरदानहो । नारी धरणी भएर आफूलाई फूलाएर यस प्रकृतिलाई हराभरा बनाउने यही उपहार महिनावारीलाई हाम्रो समाजमा गरिएको संस्कारगत गलत अभ्यासले नारीहरू कुण्ठित भएर दारुण अवस्था झेलिरहेका छन् । सृष्टिमा रङ्ग भर्ने शक्तिशाली रातो मसी हो महिनावारी तर हाम्रो समाजमा शक्तिशाली मसीलाई पापको दर्जा दिन्छन् । कुनै धार्मिक अनुष्ठानमा वा तिथिश्राद्धमा यदि नारी महिनावारी हुन्छे भने त्यो स्वयम् पापीमा दरिन्छे । त्यस नारीलाई पापीको संज्ञा दिने पुरुष मात्र होइनन् घर र समाजका नारीहरू पनि हुन् । जुन कुरा मैले स्वयम् भोगेकी छु र अधिकांश नारीले भोगेका छन् ।
मानवजीवन सृष्टिको सुन्दर उपहार हो । प्रत्येक मानिस आफैमा फरकफरक प्रतिभा लिएर आएका हुन्छन् । उनीहरू अब्बल र अद्वितीय हुन्छन् । एक पटक पाइने यस जीवनमा महिला भएर जन्मनु, सृष्टि कायम राखनु र पुरुषलाई पुरुषार्थ देखाउन सघाउनु के आफैमा अभिशाप हो ? यदि हो भने प्रत्येक नारी पापी हुन् । उनीहरूले पुनर्जन्ममा पाप गरेका हुन्, त्यही पापिनीसँग समागम गर्ने पुरुष पनि पापी हुन् र उनीहरूले जन्माएका छोराहरू पनि पापी हुन् भन्न सक्नुपर्छ । होइन भने नारीको ऊर्जावान् शक्तिलाई सबैले कदर गर्न सक्नुपर्छ र उनीहरूलाई पनि समान मान र प्रतिष्ठा दिनुपर्छ । हामीले सृष्टिको वरदानलाई कदर गर्न सकेको भए छोराको आशामा छोरीहरू जन्माउनु पर्ने थिएन र छोराको आशामा छोरीको गर्भमै पतन गरी हत्यारा हुनु पर्ने थिएन ।
वास्तवमा महिनावारीसम्बन्धी गलत अभ्यास पुरुषले मात्र गरेका छैनन् महिलाले पनि गरेको छन् । महिनावारीसम्बन्धी गलत धारण संस्कार बनी सकेको हुनाले यसले समाजमा प्रश्रय पाएको छ । महिलाले पनि धार्मिक मूल्यमान्यतासँग गाँसेर यसको गलत अभ्यासलाई शिरोधार्य गरेका छन् । शिक्षित महिलाले वास्तविकता बुझ्दाबुझ्दै गलत धारण त्याग्न सकेका छैनन् । पश्चिमी नेपालबाहेक अन्य क्षेत्रमा महिनावारी हुँदा अपनाउने परिपाटीमा आजभोलि समयसापेक्ष रूपमा लचिलो बन्दै परिमार्जित हुँदै अगाडि बढेको पाइन्छ तर पश्चिमी नेपाल अझ पनि रूढिवादी एवम् अन्धविश्वासी परम्परामा जस्ताको त्यस्तै जकडिएको छ । छाउपडी जस्तो गलत अभ्यासको कारण महिलाले महिला हुनुको दारुण पीडा भोगेका छन् र अकालमा ज्यान फाल्नु परेको छ ।
एक पटक पाइने यस जीवनमा महिला भएर जन्मनु, सृष्टि कायम राखनु र पुरुषलाई पुरुषार्थ देखाउन सघाउनु के आफैमा अभिशाप हो ? यदि हो भने प्रत्येक नारी पापी हुन् । उनीहरूले पुनर्जन्ममा पाप गरेका हुन्, त्यही पापिनीसँग समागम गर्ने पुरुष पनि पापी हुन् र उनीहरूले जन्माएका छोराहरू पनि पापी हुन् भन्न सक्नुपर्छ ।
समयसान्दर्भिक रूपमा परिमार्जित हुँदै अगाडि बढेको नेपाली समाजले अहिले पनि महिलाको एक गौरवशाली चाडमा पञ्चमी पूजाको नाममा गर्ने गलत अभ्यास आफैमा लज्जास्पद छ । यस परम्परालई अशिक्षित महिला समुदायले मात्र होइन शिक्षित महिला समुदायले पनि साथ दिएका छन् । विकासको सूचकलाई हेर्ने हो भने कुनै पनि देशमा विकास एकै पटक भएर कायापलट भएको पाइँदैन । यो क्रमबद्ध रूपमा निश्चित गतिमा अगाडि बढ्छ । त्यस्तै संस्कारगत गलत धारणलाई हामीले एकै झट्कामा त्याग्न सक्दैनौँ । सानैदेखि अभ्यासमा आएका कुरालाई सहजै त्याग्न नसके पनि हामीले क्रमिक रूपमा सुधारात्मक बाटो पच्छाएर हिँड्नुपर्छ ।
हामी हरितालिका तीजको तयारीमा छौँ । पञ्चमीमा दूषित पानीलाई गङ्गाजल ठानी नारी अवयवलाई चोख्याउने जुन परिपाटी छ,त्यसमा कुनै सत्यता छैन । वर्षभरि गरिएको पापबाट दतिवन टोकेर र निश्चित अङ्ग पखालेर मुक्ति पाइने भए भ्रष्टचारी र अपराधीले वर्षमा कति पटक धार्मिक अनुष्ठान गरेर मुक्ति पाउने थिए होलान् । यस्ता अव्यवहारिक धार्मिक गतिविधि त्याग्न सक्नु पनि महिनावारीप्रतिको गलत अभ्यासलाई घटाउने एउटा दह्रो कदमहो ।
राधा पौडेलकृत ‘अपवित्र रगत’नामक पुस्तक नारी हकअधिकारको पक्षपोषण गर्ने एक कृतिहो । ‘अपवित्र रगत’ शीर्षकीकरणलाई हेर्दा नै यसले महिनावारी अर्थात् रजस्वलालाई इङ्गित गरेको कुरा प्रस्ट हुन्छ । यो पुस्तक खोजमूलक, अनुभवमूलक, र अनुसन्धानमूलक महिनावारीकेन्द्रीत भोगाइको संस्मरणत्मक कृतिहो । लेखक स्वयम्ले कार्यक्षेत्रमा बटुलेका अनुभवहरूको सँगालो हो । अन्य संस्मरणत्मक कृतिमा लेखकले जीवनभोगाइका बहुआयामिक पक्षलाई समेटेर लेखिएको पाइन्छ भने यस कृतिमा केवल मर्यादित महिनावारीसम्बन्धी धारणमा आधारित सान्दर्भिक घटनामा सीमित भएर लेखिएको पाइन्छ तसर्थ यस संस्मरणत्मक कृतिको आफ्नै पहिचान छ ।

एक स्वास्थ्यकर्मी , एक सामाजिकअभियन्ता र लेखकको रूपमा आफ्नो व्यक्तित्व देखाउन सफल लेखक राधापौडेलले महिलाअधिकारकर्मी र सामाजिकअभियन्ताले गौण राखेको गहन विषयवस्तुमाथि यस पुस्तकमा उठान गरेकी छिन् । मानवअधिकार र सुरक्षित मातृत्वसँग प्रत्यक्ष सरोकार राख्ने विषय महिनावारीप्रतिको समाजिक अभ्यासमा आएका गलत धारणाको विरुद्धमा आवाज यस कृतिमा उठाएकी छिन् । मर्यादित महिनावारीलाई स्वीकार्दै परम्परागत संस्कारगत गलतधारणालाई त्याग्न लेखक समाजमा जति क्रान्तिकारी र विद्रोही भएर प्रस्तुत भएकी छिन् त्यस्तो साहासिक कदममा साथदिँदै आम नेपालीमहिलाले पनि एक दुई कदम अगाडि बढाउनु पर्छ र विभेदको जन्जिरले घेरिएको सृष्टि शक्तिलाई सही स्थानमा ल्याउनुपर्छ ।
मर्यादित महिनावारीलाई स्वीकार्दै परम्परागत संस्कारगत गलतधारणालाई त्याग्न लेखक समाजमा जति क्रान्तिकारी र विद्रोही भएर प्रस्तुत भएकी छिन् त्यस्तो साहासिक कदममा साथदिँदै आम नेपालीमहिलाले पनि एक दुई कदम अगाडि बढाउनु पर्छ र विभेदको जन्जिरले घेरिएको सृष्टि शक्तिलाई सही स्थानमा ल्याउनुपर्छ ।
धार्मिक तथा वैज्ञानिक सत्यता नरहेको यस विषयलाई पुरुषले पनि विवेकको प्रयोग गरी सत्य र वास्तविकतालाई स्वीकार्नु पर्दछ भन्ने मनसाय यस कृतिमा लेखकको छ । अवैज्ञानिक र अमर्यादित रुढिवादी मान्यता त्याग्नका साथै गलत धारणालाई निरुत्साहित पार्न हामी आफैबाट क्रान्तिकारी तथा विद्रोही कदम चाल्न सके मात्र गलत धारणाको उन्मूलन गर्न सकिन्छ र समाज रूपान्तरण गर्न सकिन्छ भन्ने थप मनोबल यस कृतिबाट पाइन्छ । लेखकले संस्कारगत मूल्यमान्यताको विरोधमा जुन साहासिक कदम चालेकी छिन् त्यो आफैमा सरहानीय पक्ष हो । यस्तो गहन विषयमा लेखिएको यस कृति भविष्यमा नेपाली महिलाको पीडाको ऐतिहासिक अभिलेख बन्ने कुरामा दुई मत छैन ।
महिनावारीसँग सम्बन्धित भएर नेपाली महिलाको पीडा र जटिलतालाई बुलन्द रूपमा आवाज उठाउन सफल यस कृतिमा केन्द्रित भएर शब्दहरू केलाउँदा यसमा प्रसङ्गअनुसार पूर्वापर सम्बन्ध जोडेर घटना नदेखाइएको हुनाले अर्थ स्पष्ट नभएको महसुस हुन्छ । लेखक राधा पौडेललाई पहिलो पटक पढ्ने पाठकलाई समग्र कथन बुझन असजिलो हुन्छ । कुनैकुनै उपर्शीषकले विषयवस्तुलाई समग्रतामा स्पष्ट बुझाउन नसकेको र समग्र कथनलाई नसमेटेर अर्ध कथनलाई समेटेको पाइन्छ । यस पुस्तकले पश्चिमी नेपालझैँ पूर्वीय नेपाल र तराईको परिवेशलाई समेटेर समग्र नेपाली महिलाको व्यथा बोल्न सकेको भए अझ प्रभावकारी हुने थियो । छाउपडी र छुइ प्रथामा समानता देख्ने लेखकले यी दुवै प्रथामा तात्विक भिन्नतालाई देखाउन सके अझ प्रभावकारी हुने थियो । महिनावारी पवित्र रगत हो भन्ने कुरा चिकित्सा विज्ञानले प्रमाणित गरेको विषय हुनाले यसको शीर्षकीकरण राख्दा लेखक स्वयम्ले अपवित्र रगत लेखेर ’अ’लाई काट्नु जरुरी देखिँदैन । एक स्वास्थ्यकर्मी वा एक विकासे कार्यकर्ताको केही वर्षको पहलमा र आफ्ना आमाबुवालाई पटक पटक सम्झाएको आधारमा संस्कारगत रूपमा बसेको धार्मिक आस्थासँग जोडिएको धारणामा आएको परिवर्तन त्यति छिटो कसरी सम्भव भयो रुभन्ने प्रश्न यस कृतिले पाठकहरू माझ उब्जाउछ ।
समग्रतामा भन्नुपर्दा ‘अपवित्र रगत’ कृति आफैमा एक गहन विषय समेटिएको र गलत धारणाको विरोधमा चालिएको क्रान्तिकारी एवम् साहासिक कदमको सङ्गालो हो । लेखक एक स्वास्थ्यकर्मी र सामाजिक अभियन्ता भएर समाज रूपान्तरणमा चालेको कदम प्रशंसनीय छ । आममहिलाले यस्तो साहासिक एवम् विद्रोही कदम चाल्न नसके पनि यस्ता कुरीतिको विरुद्धमा आंशिक रूपमा भए पनि कदम चाल्न सफल भयौँ भने मात्र लेखक राधा पौडेलप्रति हामीले गरेको सम्मान ठहरिनेछ । आगामी दिनमा पनि यस्तै गहन विषयमा लेखिएको कृतिको अपेक्षा गर्दै कृतिगत सफलताको कामना व्यक्त गर्दछु ।
सहीखबर लेखक शर्मा पेशाले प्राध्यापक हुन् ।