
- सम्झना घिमिरे
नेपाल टेलिकम प्रालिले सेवाग्राहीलाई कोरोना संकटको समयमा यथाेचित राहत दिन सकेको छैन । बन्दाबन्दीको कारण आफ्नो काम पनि प्रभावित भएको टेलिकमले दाबि गर्दै आएको छ ।
मकवानपुर /कोरोना भाइरसको संक्रमण फैलन सक्ने संभावनालाई मध्यनजर गर्दै गत चैतबाट विद्यालयहरु बन्द गरियो । विद्यालय बन्दपछि इन्टरनेटको माध्यमबाट शिक्षण सिकाइललाई निरन्तरता दिन थालियो । इन्टरनेटको माग ह्वात्तै बढ्दा नेपाल टेलिकमले माग अनुसारको सेवा बढाउन सकेन, यसको सोझै फाइदा उठाएका छन् निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले सेवाग्राहीहरुलाई समस्यामा ठग्न थालेको पाइएको छ ।
सेवाग्राहीहरुलाई समस्या पर्दा राहत स्वरुप विभिन्न शुल्क मिनाहा गर्न नेपाल सरकारले निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुलाई आग्रह गरेपनि निजी क्षेत्रले त्यो व्यवहारमा लागु गरेनन् । लकडाउनको समयमा १ दिन बिल तिर्न ढीलो हुँदा वर्डलिङ्कले इन्टरनेट सेवा काटेको हेटौंडा–९ कि जानुका तिमल्सिनाले बताइन् । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले समस्यालाई नै अवसरको रुपमा लिन थालेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । हेटौडा बजारमा लकडाउन अघि १३ हजारमा जडान गरिदै आएको वर्डलिङ्कको २० एमबीपीएसको सेवालाई लकडाउन सुरु हुने बित्तिकै २० हजार रुपियाँमा पु-याइएको छ । त्यस्तै भायोनेट सेवाले वार्षिक आठ हजारमा पु-याउँदै आएको सेवालाई बढाएर १५ हजार नघाएको छ । यि केही उदाहरण मात्रै हुन् ।
यता नेपाल टेलिकम प्रालिले पनि सेवाग्राहीलाई कोरोना संकटको समयमा यथाेचित राहत दिन सकेको छैन । बन्दाबन्दीको कारण आफ्नो काम पनि प्रभावित भएको टेलिकमले दाबि गर्दै आएको छ । नेपाल टेलिकमले केही समय भित्रै हेटौडाका ७५ प्रतिशत क्षेत्रमा हाईस्पिड नेटवर्किङ सेवा फाईवर विस्तार गर्ने लक्ष्य लिएकोमा बन्दाबन्दीको कारण कामले रफ्तार लिन नसकेको बताएको छ । बजारमा हालसम्म सञ्चालित तामाको तारयुक्त एडीएसएल सेवालाई विस्थापित गर्दै सेवाग्राहीको मागलाई ध्यानमा राख्दै एफटिटिएच अफर विस्तार गर्न लागेको हो । हेटौंडा उपमहानगरपालिका क्षेत्रका करिब ३३ प्रतिशत क्षेत्रमा बिस्तार भईसकेको फाईवर सेवा आर्थिक वर्ष ०७४/०७५ बाट केन्द्रीय कार्यालयको योजना अनुरुप सुरु गरेको थियो । हालसम्म २ हजार १२ जना माझ पु-याएको उक्त सेवा आव २०७६/०७७ मा ६ हजार जनामा पु-याउने योजना रहेकोमा कोरोना भाईरसको संक्रमणका कारण सम्पुर्ण काम ठप्प गर्नुपरेको फाइवर लाईन विस्तार शाखाका सहायक प्राविधिक अधिकृत प्रेम हमालले जानकारी दिए ।
कोभिड १९ को कारण भएको बन्दाबन्दिमा समेत निजी क्षेत्रका नेटवर्किङ कम्पनिहरुले आफ्नो सेवा विस्तार गरिरहेका छन् भने सरकारी क्षेत्रबाट हुने सेवाहरु भने बन्दाबन्दिकै बहानामा सुचारु छैन । बन्दाबन्दी अगावै नंक्साङ्न भईसकेका क्षेत्रमा समेत टेलिकमले सेवा विस्तार गरेको छैन ।
हमालका अनुसार हेटौडा उपमहानगरपालिका भित्रका १, २, ३, ४, ५, ६,१० र ११ का सम्पुर्ण वडा समेटेर केन्द्रीय निकायबाट फाईवर बिच्छ्याउनकै लागि नंक्साङ्न भईसकेको छ । तर बन्दावन्दिकै कारण प्राविधिक काम भने रोकिएको उनले बताए । कोरोना संक्रमणकै कारण निजी क्षेत्रले उपभोक्तालाई अति आवश्यक बनिसकेको नेटवर्किङ सेवामा दोब्बर ठगि गरिरहँदा समेत सरकारी प्रशासन पक्षद्वारा कुनै अनुगमन तथा सुनुवाई समेत नहुने गरेको हेटौडा ५ कि गर्दोइ निवासी लिलामाया लामाले गुनासो गरिन् । “बच्चाहरुको पढाइ अनलाइनमै हुने अनि यहि समयमा निजी नेटको सेवा दोब्बर हुँदा हामी मारमा परेका छौं” उनले भनिन् । यस्तै गुनासो छ हेटौडा ४ कि सपना आचार्यको पनि । आफ्नो काम सबै अनलाईनबाटै गर्नुपर्ने, तर निजी क्षेत्रको इन्टरनेट महङ्गो भएको उनले गुनासो गरिन् । “‘निजी क्षेत्रका सेवाहरु बुझे, सबै साह्रै महङ्गो लाग्यो, अनि सरकारी सेवा पाईन्छ कि भनेर टेलिकम गए, तर त्याहाबाट पनि संभव नभएपछि अहिले बाध्य भएर भायोनेट नेट सेवा नै लिए” उनले भनिन् ।