मकवानपुर । हेटौंडाका एक जनामा मृत्युपछी कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा १ जरुवाटोलमा ६१ वर्षिय बृद्धकाे साेमबार कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकाे थियो ।
उहाँकाे मंगलबार राती मृत्यु भएपछी बुधबार प्राप्त कोरोना परीक्षण रिपोर्टमा कोरोना संक्रमण देखिएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत भोला चौलागाईले जानकारी दिनुभयो ।
हेटाैडाकाे प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको चौलागाईले बताउनु भयो ।मतृक हेपाटाइटिस, प्रेसर लगायतका रोगबाट ग्रसित भइ लामो समयदेखि उपचारत रहेकाे बताइएकाे छ।
सोमबार स्वाब नमूना सङ्कलन गरिए पनि निधन भएपछि उहाँको स्वाबको नमूना आज बिहान परीक्षण गरिएको हो । स्वाब नमूनाको चापका कारण तत्काल परीक्षण गर्न सक्ने अवस्था छैन । मृतक वृद्धमा कसरी सङ्क्रमण भयो भन्ने जानकारी हुन बाँकी रहेकाे चौलागाईले बताउनुभयाे ।
यसै बिच मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएका हेटौँडा उपमहानगरपालिका वडा नंबर १ का बृद्धको शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले कोभिड १९ को शव व्यवस्थापन कार्यविधि अनुसार नेपाली सेनाले जिल्लाको उपयुक्त स्थानमा शव व्यवस्थापन गर्ने बताउनु भयाे ।
प्रजिअ नेपालले भन्नुभयाे ‘नेपाली सेनाको शव व्यवस्थापन टोलीले काम सुरु गरिसकेको छ । अब चाँडै शव व्यवस्थापन हुनेछ ।’