मकवानपुर । समयमा उचित व्यवस्थापन नहुँदा हेटौंडा उपमहानगर–६ मा रहेको गौरिटार आइसोलेसनमा रहेका कोरोना संक्रमितहरु भोक भोकै बस्नु परेको छ ।
खाना दिन्छौ दिन्छौ भन्दै दिउँसो २ बजेसम्म खाजा र खानेकुरा नदिएको कोरोना संक्रमितहरुले गुनासो गरेका छन् । भोकले छटपटाएको बिरामीले भमिट गर्दा सम्म स्वास्थ्यकर्मीले वास्ता नगरेको आइसोलेशनमा बस्नेहरुले गुनासो गरेका छन् । कर्राको आइसोलेशनबाट बिरामी थपिएपछि स्वास्थ्यकर्मीहरुले झनै बिरामीको ख्याल गर्न नसकेको पाइएको छ ।
रंगशालाको ब्वाईज होस्टेलको रुपमा रहेको स्थानलाई कोरोना संक्रमण भएकाहरुलाई राख्न आइतबार पहिलो चोटि आइसोलेनको रुपमा सञ्चालन गरिएको हो, तर व्यवस्थापनमा कमजोरी हुँदा कोरोनासँग लडिरहेका संक्रमितहरुलाई दिनभर भोकै राखिएको छ । आइसोलेसनमा न्युनतम आधारभूत भौतिक तयारी समेत नगरी संक्रमितहरु राख्न थालेको संक्रमितको गुनासो छ ।
बाहिरी रुपमा आकर्षक भौतिक संरचना भएपनि आन्तरीक व्यवस्थापन नभएको उहाँहरुले बताउनु भयो । “बिहान देखि पानी खाएर बसिरहेका छौं, सोधपुछ गर्दा एकछिनमा आउँछ भनेर टार्ने गरिन्छ” एक जना संक्रमितले भन्नुभयो “२ बजेपछी दुईवटा जेरि र एउटा फुलौरा दिए ।” मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (हेटौंडा अस्पताल) अन्तर्गत रहेको आईसोलेसनले गम्भीर लापरबाही गरिरहेको छ ।
आइसोलेसनका व्यवस्थापन हेरिरहेका हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले भान्छे नपाएर केहि समस्या भएको बताउनु भयो । उहाँले सकेसम्म काम गरिरहेको दाबी गर्दै नयाँ आइसोलेसनका लागि भान्छा र जनशक्ति नभएको तर चाँडै व्यवस्थापन गर्ने बताउनु भयो ।
३५ वटा वेड भएको हेटौंडाको श्रमिक माविमा बेडको अभाव भएपछि आइतबारबाट राष्ट्रिय खेलकुद प्रष्ठिान रङ्गशालामा रहेको हेस्टलमा आइसोलेशन तय गरिएको थियो ।
कोरोना संक्रमित लगातार थपिँदै गएपछि हेटौंडा उपमहानगरपालिका ६ गौरिटारमा रहेको केन्द्रीय खेलकुद प्रतिष्ठान (गौरिटार रंगशाला) क्षेत्रमा रहेको ब्वाइज होस्टललाई कोरोना आइसोलेसन वार्ड बनाइएको हो । व्यवस्थित आइसोलेसन बेडको अभाबका कारण कोरोना संक्रमण पुष्टि भएका बिरामिलाई होम आइसोलसनबाट निकाल्न हेटौंडामा व्यवस्थित आइसोलेसन वार्ड निर्माण गरिएको हो । यहाँ १ सय २० बेड क्षमताको आइसोलेसन वार्ड तयार भएसँगै कर्रामा रहेका र होम आइसोलेसनमा रहेका संक्रमितलाई गौरीटार लगिएको छ ।
३ तल्ले भवनमा सञ्चालनमा ल्याएको आइसोलेसनको तल्लो तल्लामा अस्पतालका कर्मचारी र उपचारको क्रममा खटिएका चिकित्सक सहितको टोली रहने व्यवस्था सहित वार्ड सञ्चालनमा ल्याएको कोबिड अस्पताल गौरीटारका इन्चार्ज डाक्टर सागर काफ्लेले बताउनु भयो । उहाँका अनुसार अहिले व्यवस्थित ढंगबाट काम गरीरहेका छौं, संक्रमितलाई सुबिधा पु¥याउने उद्देश्य सहित व्यवस्थापन मिलाइएको छ । अहिले कर्रामा बेड नभएर होम आइसोलेसनमा रहेका पेन्डिङ बसेका बिरामी र नयाँ थपिएका बिरामीलाई उपचारका लागि ल्याएको उहाँले जानकारी दिनुभयो ।
बेड अभाबका कारण होम आइसोलेसनमा रहेका बिरामीलाई उनीहरुको इच्छा अनुसार ल्याउने तयारी थालिएको छ । आउन चाहनेलाई ल्याउछौं अन्यथा घरमै न्युनतम मापदण्ड पुरा गरेर घरमै रहन चाहनेलाई चिकित्सकको सम्पर्कमा रहने गरी छोडिने डाक्टर काफ्लेले बताउँछन् । कर्राबाट २१ जना र थपिएका १२ जनालाई गौरीटार लगिएको छ । शनिबार लगिएका २१ जना मध्य होम आइसोलेसनमा रहेर उपचार गराइरहेका पनि रहेको उहाँले बताउनु भयो । शनिवार थपिएका २० जना मध्य १२ जना गौरीटार लगिएको छ ।
आइसोलेसन वार्डमा बेडको अभाब भएपछि ६० जना बिरामी घरमा रहेर उपचार गराईरहेका थिए । जिल्लामा १ सय ७५ जना कोरोना संक्रमितको संख्या पुग्दा हेटौंडामा मात्रै १ सय जना रहेका छन् । कर्रामा रहेको ३५ बेड क्षमताको आइसालेसनबाट बिरामी गौरीटार लगिएपछि केहि संख्यामा मात्र कर्रामा रहेको हेटौडा उपमहानगरपालिकाका सिनियर अहेब भोला चौलागाईले बताउनु भयो ।
शिक्षा मन्त्रालयले विद्यालयमा आइसोलेसन वार्ड नराख्न निर्देशन दिएपछि गौरिटार रंगशालाको भवनमा आइसोलेसन वार्ड सारिएको हो । कर्रामा पनि केहि समयमा लागि स्वाब संकलनका लागि आइसोलेसन वार्ड कायम राखिने बताइएको छ । कर्रामा ३५ बेड क्षमताको आइसोलेसन प्रदेश सरकार अन्तर्गत हेटौंडा अस्पतालले सञ्चालन गरेको हो ।