सिन्धुपाल्चोक / सिन्धुपाल्चोक जिल्लाको पहिरो प्रभावित क्षेत्रको बस्ती तत्काल स्थानान्तरण गरिने भएको छ । सिन्धुपाल्चोकका पहिरो पीडितहरुको लागि राहत सामग्री सहित शनिबार त्यहा पुग्नु भएको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बस्ती स्थानान्तरण गरिने बताउनु भएको हो ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा भएको पहिरो प्रभावितका लागि स्वास्थ्य सामग्री, राहत सामग्री तथा अत्यावश्यक सामग्री सहित मुख्यमन्त्री पौडेल त्यसतर्फ सिन्धुपाल्चोक पुग्नु भएको हो । स्थलगत निरीक्षणपछि सो क्षेत्रमा खानेपानीका पाइप, अस्थाई शौचालयका सामग्री, दैनिक उपभोग्य खाद्य सामग्रीको व्यवस्था गरिएको छ । हाल सो क्षेत्रमा नेपाल प्रहरी र ससस्त्र प्रहरी र स्थानीयले उद्वारका काम जारी राखेका थिए भने थप सहयोगका लागि नेपाली सेनको एउटा टुकडी हेलीकप्टरमार्फत सो क्षेत्रमा पु-याएको छ ।
मुख्यमन्त्री पौडेलले तत्काल अस्थाई बासस्थान राहत र क्षतिपूर्ति उपलब्ध गराउने बताउनुभयो । सो स्थान बस्तीको लागि उपयुक्त नभएको स्थानीयले मुख्यमन्त्रीलाई जानकारी गराएका छन् । मुख्यमन्त्री पौडेलले स्थानीयको मागअनुसार बस्ती स्थानान्तरण गरीने बताउनुभयो । सिन्धुपाल्चोकका बस्तीहरु नै मानिसको बसोबास गर्न नमिल्ने, असुरक्षित रहेको बताउनुभयो । यहाँका बस्ती स्थानान्तरणका लागि उपयुक्त जमिनको खोजी गरी सकेसम्म छिटो अगाडि बढाईने उहाँले बताउनु भयो ।
सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुको अरु केहि विकल्प पनि नभएको उहाँले बताउनुभयो । ‘हामी स्थानान्तरण मात्र हैन, जिविको पार्जन गर्न रोजगारी हुने गरी स्थानान्तरण गर्नुपर्छ’ उहाँले भन्नुभयो । स्थानीयहरुलाई परेको विपत्तिमा सरकारले सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । उचित व्यवस्थापन गर्ने सरकारको दायित्व रहेकोले सकारले तत्काल काम थाल्ने उहाँले बताउनुभयो । हालसम्म पनि स्थानियहरु बेपत्ता रहेकोले उद्धार कार्य थप तिव्र बनाइएको पनि उहाँले जानकारी दिनुभायो ।
जिल्लाको पहिरो पीडित सबैको हितको लागि प्रदेशका मन्त्रीहरु, सांसद, जनप्रतिनिधिहरुलगायत अन्य सरोकारवालाहरुसँग प्राविधिकसहितको टोली राखेर छलफल गरेर निकास निकालिने मुख्यमन्त्री पौडेलले बताउनु भयो । शनिबार मुख्यमन्त्री पौडेलसहित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल, पुर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशका अर्थ तथा विकास समिति शरेस नेपाल, प्रदेशका प्रमुख सचिव मानबहादुर विके, मध्यपृतनापति ताराध्वज पाण्डे, बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी वसन्त लामाको टोली त्यसतर्फ गएको हो । सो क्षेत्रमा अहिले सय ७२ घर धुरी रहेका छन् भने ३६ घरमा पूर्णरुपमा क्षति भएको छ । हाल सम्म १६ जनाको शव फेला परिसकेको छ भने २३ जना अझै बेपत्ता रहेका छन् ।