हामी कति मानवीय….. ?
‘मेरो स्वास्थ राम्रो छ मलाई रुघा, खोकि, ज्वरो, घाटीँको पनि कुनै समस्या छैन् । खाना पनि स्वाद लिई लिई खाईरहेको छु । म सुरक्षित नै छु । मलाई माया गर्नुहुनेलाई धेरै धेरै धन्यवाद । गाली गर्नेलाई यति धेरै माया कि झ्याप्प अङगालो हाल्न मन छ । मेरो कुनै नियोचित योजना छैन र थिएन पनि कि सबलाई सार्दै हिंड्नु पर्छ भनेर । जुन दिनदेखि कन्ट्रयाक ट्रेसिङमा परे त्यस दिनदेखि कसैलाई छोएको पनि छैन सुरक्षित घर मै बसेको छु, कसैको घरभित्र पसेको पनि छैन ….।’
टोलका समान्य सरसफाईमा होस् वा महिलामाथि हुने हिंसा विरुद्धको अभियान, या कारागारमा कैदीबन्दीको जीवन बिताइरहेकाहरुको मावन अधिकारको अवस्था केलाउन होस् वा सामाजिक न्यायका खातिर मानवीयता प्रवर्ध्दनका लागि उभ्याइरहने, एउटा जोशिलो व्यक्ति, आफू खटेर अरुलाई प्रेरणा भर्ने आँट बोकेको सामाजिक व्यक्तित्व । जो सधैं समाजको भलाईको लागि खटिरह्यो, समाजलाई आफ्नो जीवन सम्झेर । उसले आफू कोरोना संक्रमित भएपछि फेसबुक वालमा लेखेको यो स्टाटस पढेर केही बेर सोचमग्न भएँ । आफूलाई नियाल्न मन लाग्यो । कहाँ छौ हामी कति मानवीय छौ हामी ?
स्टाटस थियाे एक जना सामाजिक अभियन्ता सर्मिला श्रेष्ठकाे । जो केही घण्टा अगाडि आफ्नो टोल सफाई तथा कोरोना संक्रमण रहित बनाउनको लागि नेतृत्व गर्दै थिइन्, समाजमा चेतनाको लागि उभिदै थिइन् । आफैंमा कोरोनाको आशंका समेत नगर्दै, शरिरमा कुनै लक्ष्यण बिना नै कोरोना पोजेटिभ देखिएपछि मन बाँधेर कोठामा बसिरहेकी छिन्, उनै बिरुद्ध किन खनिन्छ हाम्रो समाज ?
महामारी सुरु भएयता उनले हजारौंको लागि उद्वार राहतमा आफूलाई खटाइरहिन्, । ‘म सधैँ छिमेकीको सहयोगमा लागिरहेँ, आज मलाई कोरोना देखिएपछि छिमेकी नै गाली गर्न थाले, मनभरी पीडा छ’ उनले भनिन् ।
हेटौँडा–१० राममन्दिर निवासी अधिकारकर्मीमा कोरोना पुष्टि भएपछि संक्रमणले भन्दा सामाजिक व्यवहारले मन पोलेको छ उनको । हेटौँडा–१० स्थित बसपार्क प्रहरी चौकीमा कार्यरत प्रहरीलाई कोरोना देखिएपछि उनको स्वाब पनि परीक्षण गरिएको थियो । रिपोर्ट आयो पोजेटिभ । कोरोना संक्रमण पुष्टि भएपछि उनले छिमेकीबाट ‘गाउँ सखाप पार्न लागेको’ भन्दै अपशब्द बोलेको सुन्न प-यो ।
हेटौंडामा कोरोना महामारी भुसको आगो जसरी फैलदों छ, आज अपशब्द बोल्नेलाई भोली संक्रमणले नभेट्ला भन्ने छैन, तर हामी भित्रको मानवीयताको स्तर किन घर्किदो छ ? भनिन्छ नि अनिकालमा बिउ जोगाउनु, हुलमुलमा जिउ जोगाउनु । हामीले यो महामारीमा माया, प्रेम, हौसला बाँडेर जिउनु पर्छ न कि आपसमा रिस साँधेर । सामाजिक सद्भाव कायम राखेर हामी यो माहामारीमा आफू, आफ्नो समाज र देशवासीलाई बचाउँनु छ ।
कोहि पनि व्यक्ति चाहेर कुनै पनि रोगको संक्रमणमा आफूलाई धकेल्न चाहदैन । समय परिस्थितिले यो अवस्था आउन सक्ने कुरा हो, र संक्रमित हुनु कुनै अपराध गर्नु पनि होईन । त्यसैले दुर्व्यवहार गरेर जो कसैको पनि मनोबल गिराउने कार्य गर्नु मानवीय धर्म हैन । अफ्ठ्यारो पर्दा नै अन्यको सहयोगको अपेक्षा हुन्छ मान्छेलाई । यही अफ्ठ्यारो अवस्थामा आत्मबल गिराउने काम नगरौ ।
अनावश्यक रुपमा रिस पोखेर कसैले फाइदा हैन, हानि छ । धनि र सम्पन्न राष्ट्र नै कोरोना महामारीसँग परास्त भैसकेको यो अवस्थामा हामी आफ्नो घर परिवार र टोल भित्रै किन रुमलिन्छौ ? संक्रमित कमजोर हुँदै गएको अवस्थामा उ भित्र आत्मबल र साहस भर्नाले धेरै हदसम्म उपचारकै काम गर्ने स्वास्थ्यकर्मीहरुले बताइरहेको बेला, न्युनतम मानव अधिकारको समेत ख्याल नगरी निम्नस्तरको व्यवहार गरिनु कदापि हुदैन ।
समाजको भलाईको लागि लड्नेलाई समाजले मनोबल उचो गराइदिनतर्फ सोच्नु समाजको दायित्व हो । कोहि पनि व्यक्ति चाहेर कुनै पनि रोगको संक्रमणमा आफूलाई धकेल्न चाहदैन । समय परिस्थितिले यो अवस्था आउन सक्ने कुरा हो, र संक्रमित हुनु कुनै अपराध गर्नु पनि होईन । त्यसैले दुर्व्यवहार गरेर जो कसैको पनि मनोबल गिराउने कार्य गर्नु मानवीय धर्म हैन । अफ्ठ्यारो पर्दा नै अन्यको सहयोगको अपेक्षा हुन्छ मान्छेलाई । यही अफ्ठ्यारो अवस्थामा आत्मबल गिराउने काम नगरौ ।
र अन्तमा मकवानपुरमा कोरोना संक्रमणको रफ्तार बढ्दो रहेपनि नेतृत्वदायि निकायबाट खासै उल्लेख्य काम, योजनाहरु भएका छैनन् । संक्रमितलाई राख्ने आइसोलेशन कै अभाव छ । संक्रमितलाई घर घरमै आइसोलेशट गर्दा स्वास्थ्य सुरक्षाको मापदण्ड पुगे नपुगेको निगरानी हुन सक्ला र ?
सरकारले उपचार प्रणालीको उचित व्यवस्थापनमा ध्यान दिनुपर्छ । कस्तो बिरामीलाई कहाँ राखेर कसरी उपचार गर्ने स्पष्ट रणनीति र त्यही अनुसारको व्यवस्थापन गर्न सक्नुपर्छ। समूहगत संक्रमण व्यापक हुँदै गएमा त्यसको व्यवस्थापनको लागि प्रयाप्त पुर्वतयारी आवश्यक छ, जुन मकवानपुरमा पटक्कै छैन । कछुवाको गतिमा हुँदै गरेको सुरक्षा तयारीले खरायो गतिमा बढेको संक्रमणलाई थेग्न सक्ला र ?
आफूमा कोरोना संक्रमण भएको आशंकापछि पीसीआर जाँच गराउन जानेहरुलाई हेटौंडा अस्पतालले अनेक बाहानामा रगत पिसाबलगायतको रिपोर्ट अनिवार्य भन्दै झण्झटिलो बाटो देखाउने गरेको छ, जुन अनावश्यक हो । सरकारी तवरबाट कोरोना परीक्षणलाई फराकिलो दायरामा ल्याएर,समुदाय स्तरमा जाँच बढाउनु अनिवार्य छ । यो आपतकालिन अवस्याथामा आपसमा छुटेर, टुटेर हैन जुटेर सामना गर्न तर्फ लाग्नु सबैको हितमा छ । सचेत बन्दै, आफ्नो आनिबानिमा सुधार गरौं, सामाजिक सद्भाव कायम राख्दै कोरोनालाई परास्त गरौं ।