राजु आचार्य ‘दीप’
काउले चितवन
१
तिमीलाई हेर्दै गजल फुरेको याद छ
गजल सुन्न तिमीले कुरेको याद छ
म जत्तिकै नराम्रो भए नि माया गरि
एकोहोरो हेर्दै तृष्णा पुरेको याद छ
तिमी ओरालो झरी म उकालो चढी
पानी भर्दा धारामा भेट जुरेको याद छ
मकै र भटमास गुन्द्रुकको अचार पिरो
गफ गर्दै खाँदा खेरी तुरेको याद छ
सँगै जान्थ्यौँ जात्रा हेर्थ्यौँ सँगै शुक्रबार
शनिबार बनमा सँगै घुरेको याद आउँछ
२
मान्छेलाई भोकै पारेर पूजा हुन्छ ढुङ्गाको
कस्तो अन्धसमर्थन मान्छेहरूमा देवताको
कोही सन्तुष्ट देखिन्न मान्छेहरु आफैसँग
बारम्बार चर्चा किन हुन्छ आखिर सपनाको
कतै घुसको कुरा कतै हत्या बलत्कार छ
विश्वास कसरी गर्ने हाम्रा सरकारी अड्डाको
दुई वर्षमा घर ठड्यायो हेर्दा टोपी खस्ने
पक्कै जागिर हुनुपर्छ भन्सारतिर सुब्बाको
परिवर्तन आवश्यक छ घोषणा गर्न होइन
शिक्षितकै बाआमा लाउँछन् ल्याप्चे औलाको
३
तिमी मै पुरै मन लगाएर राख्छु
दिलैमा बगैंचा बनाएर राख्छु
सखीले भनेकी ठिकै छौ चमेली
मनैको कुनामा सजाएर राख्छु
सधैंको म प्यासी सधैंको उदासी
नसामा चपक्कै बगाएर राख्छु
कुनै पल पिरैमा परौली भने है
मिठा ती गफैले फकाएर राख्छु
रसैको यो चोला नबुझ्ने नबन्नू
देऊ साथ स्वादै चखाएर राख्छु