बागमती प्रदेशको राजधानी हेटौडाको उत्तरतर्फ करिव २१ कि.मि.को दुरीमा रहेको भिमफेदी गाँउपालिका ९ वटा वडा मिलेर बनेको छ । कुल क्षेत्रफल २४५.२७ वर्ग कि.मि. रहेको छ यो यस गाउँपालिकामा २४ हजार ९ सय ६० जना जनसंख्या (वि.स. २०६८ सालको जनगणना अनुसार) रहेका छन् । साक्षरता दर ६८.८ प्रतिशत रहेको, मौसमि विविधताले भरिपुर्ण यो पालिका पर्या–पर्यटनको दृष्टिकोणबाट निकै उत्कृष्ट छ । काठमाडौं र तराई जोड्ने मुख्य नाकाको रुपमा रहेको भिमफेदी गाउँपालिकाले कोरोना संक्रमणको महामारीमा कसरी काम गरिरहेको छ ? समस्या, चुनौतिहरु के कस्ता छन्, स्थानीय जनता, प्रदेश तथा संघीय सरकारसँग के कस्ता समन्वय भएका छन् यसबारे भिमफेदी गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवरसँग गरिएको कुराकानीको सारः
कोरोना संक्रमण महामारीसँग कसरी मुकाविला गरिरहनु भएको छ ? यस गाउँपालिकामा कोरोनाको अवस्था के छ ?
चिनको वुहानबाट फैलिएको कोभिड १९ को प्रभाव विश्वव्यापि हुन पुग्यो । यसको प्रभावबाट नेपाल पनि अछुतो रहन सकेन । मकवानपुरको भिमफेदी गाँउपालिका तराईबाट काठमाडौ प्रवेश गर्ने र काठमाडौबाट तराई जाने नाकाको रुपमा रहेको छ । त्यसैले भिमफेदी गाँउपालिका कोभिड १९ को उच्च जोखिममा रहेको छ । यस गाँउपालिकामा हालसम्म ३ जना पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । ति ३ जना मध्ये २ जना निको भई घर फर्किसकेका छन बाँकी १ जनाको हेटौडा स्थित आइसोलेसन कक्षमा राखेर उपचार भईरहेको छ । नेपालमा लकडाउनको घोषणा गरिएपछि यस गाँउपालिकामा नेपाल बाहिरबाट आउनेको संख्या ६७ पुगेको छ । नेपाल बाहिरबाट नेपाल फर्किने व्यक्ति सबैलाई तोकिएको समयसम्म गाँउपालिकाको तोकिएको क्वारेन्टाइन वा सुरक्षित ढंगबाट होम क्वारेन्टाईनमा राखी स्वास्थ्य परीक्षण गरीएको छ । हाल ३ जना व्याक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । हाल नेपाल सरकाराबाट आरडीटि परीक्षण बन्द गरिएको छ । यद्यपि हालसम्म १ सय ६५ जनाको आरडीटी परीक्षण गरिएको छ भने ४५ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म यस गाँउपालिकामा ४५ जनालाई गाँउपालिकाले तोकिएको क्वारेन्टाइनमा राखिएको छ ।
यस गाँउपालिकाद्धारा संक्रमण रोकथामको लागि के कस्ता प्रयासहरु गर्नुभयो ?
यस रोगको प्रभावबाट बचाउनको लागि एकिकृत प्रयास जारी रहेको छ । नयाँ ठाउँ (स्वदेश वा विदेश ) बाट यस गाँउपालिकामा आउने सबैको निगरानी गर्ने राखेका छौं । त्यस्ता व्यक्तिहरुलाई पहिचान गरी क्वारेन्टाईनमा राख्ने, स्वास्थ्य परीक्षण गर्ने र कोभिड १९ संक्रमण नभएको यकिन भए पश्चात मात्रै आफ्नो घरमा पठाउने कार्य भैरहेको छ । गाँउपालिकमा २५ शैयाको व्यवस्थित क्वारेन्टाइन रहेको छ । क्वारेन्टाइन व्यवस्थापनको लागि जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, नेपाल रेडक्रस सोसाईटी, स्थानीय नागरिक, सहितको क्वारेन्टाइन व्यवस्थापन समिति बनाइएको छ । जसले क्वारेन्टाइनको सरसफाई, खाना, सुरक्षा, स्वास्थ्य परीक्षण, परामर्स सेवा उपलव्ध गराउने गरेको छ ।
गाउँपालिका स्तरिय कोभिड १९ नियन्त्रण तथा रोकथाम समति गाँउपालिकाको अध्यक्षको संयोजकत्वमा रहेको छ । जसले गाँउपालिका भरिमा गरिने समग्र कार्यको कार्य योजना बनाउने, विभिन्न अवस्थमा आपतकालिन निर्णय गर्ने, नयाँ प्रयासको लागि पहल गर्ने, निर्णय बमोजिम कार्यान्वयन भए÷नभएको निगरानी गरेरहेको छ । यसै समितिले कोभिड १९ को सन्दर्भमा गरीने खर्च र सोको लागि आवश्यक पर्ने बजेट व्यवस्थापनको पहल गर्दछ भने भएका खर्चको निगरानी समेत गर्ने गर्दछ ।
संक्रमण रोकथामको लागि स्वास्थ्यकर्मी परिचालन कसरी गर्नुभएको छ ?
एकदम सान्दर्भिक सवाल उठाउनु भयो । संक्रमण रोकथामको लागि स्वास्थ्यकर्मीको ठुलो भुमिका रहने गर्दछ । हाल यस गाँउपालिकामा १ प्राथमिक स्व्वास्थ्य केन्द्र, ४ स्वास्थ्य चौकी, ३ सामुदायिक स्वास्थ्य केन्द्र रहेका छन । ती स्वास्थ्य संस्थाबाट निरन्तर स्वास्थ्य सेवा उपलव्ध इरहेको छ । आवश्यकता अनुसार त्यहाँ पनि गाउँपालिकाले निगरानी गरेको छ । स्वास्थ्यकर्मीको उच्च मनोवल र उच्च सुरक्षका साथ काम गर्ने वातावरण बनाउनको लागि निरन्तर प्रयास भैरहेको छ । स्वास्थ्यकर्मीलाई सुरक्षाजन्य उपकरणको सहज उपलब्ध गाराईएको छ । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी सहितको संयुक्त प्रयासमा घरघरमै पुगी स्वास्थ्य परीक्षण गर्ने, जनसमुदायमा जनचेतना जगाउनेलगायतका कार्य भैरहेका छन ।
स्थानिय समुदायमा पोष्टर टाँस्ने, माइकिङ्ग गर्ने, जनसमुदायमा जनचेतना जगाउनेलगायतका कार्य भैरहेका छन । स्थानीय समुदायमा रेडियो, पत्रिका, अनलाईनबाट स्वास्थ्य सम्बन्धी सूचना जारी गर्ने काम भैरहेका छन । समुदायमा माक्स लगाउन, साबुन पानिले हात धुन, अनावश्यक रुपमा घरबाहिर नजान, जमघट नगर्न, भेलानगर्न, मेलाजात्रा गर्ने कार्य कमि गर्न प्रहरी, सञ्चारकर्मी, जनप्रतिनिधि सहितको टोलीले जनचेतना जगाउने कार्य भैरहेको छ । कोभिड १९ सम्बन्धी स्वास्थ्य परीक्षण गर्न जाने र आउनको लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेको छ । कोहि कसैको कोभिड १९ को कारण मृत्यु भएमा सुरक्षित तरिकाबाट शव व्यवस्थापनको लागि नेपाली सेनासँग समन्वय गरी सुरक्षा जन्य सामग्री सहित तयारी अवस्थामा राखिएको छ । यसको लागि भैसे स्थित कुलेखानी २ विद्युत उत्पादन गृहको सुरक्षाको लागि खटिएको नेपाली सेनासँग समन्वय गरी तयारी अवस्थामा राखिएको छ ।
कोभिड १९ को कारण आफ्नो रोजगारी गुमाएको कारण खाद्यन्न अभाव भएका, संरक्षकको अभाव भएका जेष्ठ नागरिक, अपाङ्ग, स्वास्थ्य सम्बन्धी जटिल समस्या भएका व्याक्तिहरु, अन्य स्थानबाट यस गाँउपालिकामा आई अलपत्र परेका व्यत्तिहरुको वास्तविक अवस्था पत्ता लगाएर राहत वितरण गर्ने सुरुदेखि हालसम्म नै कार्य भैरहेको छ । हालसम्म १ हजार १ सय ७६ परिवारलाई राहत वितरण गरिएको छ । गाँउपालिकामा प्रवेश गर्ने विभिन्न नाकाहरुमा सुरक्षाकर्मी, स्थानिय युवा, समाजसेवी, क्लब समेतको सहयोगमा गाँउपालिका प्रवेश गर्ने नँया व्यक्तिको निगरानी गर्ने, सचेत गराउने गरिएको छ । प्रत्येक वडामा वडा अध्यक्षको संयोजकत्वमा कोभिड १९ नियन्त्रण तथा रोकथाम समिति गठन गरि निरन्तर रुपमा काम गर्दै आईरहको छ ।

गाँउपालिकामा प्रवेश गर्ने विभिन्न नाकाहरुमा सुरक्षाकर्मी, स्थानिय युवा, समाजसेवी, क्लब समेतको सहयोगमा गाँउपालिका प्रवेश गर्ने नँया व्यक्तिको निगरानी गर्ने, सचेत गराउने गरिएको छ ।
खासगरि आमनागरिकको धैर्यता, निरन्तर सामाजिक अनुशासन,सरकारले अवलम्बन गरेका स्वास्थ्य सुरक्षा सम्बन्धी उपायहरुको पालना, सामाजिक दुरिको पालना, समुदायबाट भइदिएमा हामी सबै यो संक्रमणबाट बच्न र बचाउन सक्छौ ।
कोभिडको कारण धेरै युवाहरु बेरोजगार पनि भएका छन्, यस गाउँपालिकाको अवस्था चाँही कस्तो छ ?
स्थानिय स्तरमा रोजगारी गुमाएका व्याक्तिहरुलाई रोजगारमा आवद्ध गराउनको लागि गाँउपालिकाद्वारा सञ्चालित आयोजनाहरुमा स्थानीय श्रम र सिपको उपयोगीतालाई जोड दिइने गरिएको छ । गाँउपालिकाद्वारा सञ्चालित आयोजनाहरुमा ठुला उपकरणको प्रयोगमा निरुत्साहित गरिएको छ । जसले स्थानीय रोजगारी सृर्जना गर्नमा योगदान दिएको छ ।
गाँउपालिकाद्वारा उपलव्ध गराइने सेवा प्रवाहमा कुनै पनि कमि आउन नदिन निरन्तर प्रयास जारी छ । वडा कार्यालय, स्वास्थ्य संस्था, गाँउपालिका, विद्यालयको प्रशासनिक सेवा प्रवाहलगायतका सेवाहरु निरन्तर जोड दिइएको छ । खासगरी कृषि सम्बन्धी कार्य, पशु व्यवसाय सम्बन्धी सेवा निरन्तर जोड दिइएको छ । जसको कारण भविष्यमा आई पर्न सक्ने सम्भावित खाद्या संकट बाट जोगाउन सकिन्छ । निःशुल्क बालि तथा फलफुलको विउ वितरण , कृषकहरुको फिल्ड मै गै कृषि तथा पशुको स्वास्थ्य उपचार, चेकजाँच निःशुल्क औषधि उपचार परामर्श सेवा दिने जस्ता कार्यलाई जोड दिइएको छ ।
कार्यालयबाट सेवा प्रदान गर्ने क्रममा कसरी स्वास्थ्य सुरक्षा प्रबन्ध गर्नु भएको छ ?
कार्यालयमा आउने सबैको दैनिक अभिलेख राख्ने, ज्वरो नाप्ने, मास्क अनिवार्य लगाउन लगाउने, कार्यलय बाहिर साबुन पानीले हात धुन लगाउने, सामाजिक दुरी कायम गरेर सेवा प्रदान गर्ने कार्यलाई कडाई गरिएको छ । स्थानीय रोजगारी सृर्जना र विकास सम्बन्धी कार्यलाई निरन्तरता दिन गाँउपालिकाद्वारा स्वीकृत आयोजना कार्यन्वयनमा जोड दिइएको छ । बजारमा माग र आपुर्तिको अवस्थामा सहज बनाउन, कालो बजारी गरी कृतिम आभाव हुन नदिन बजार अनुगमन गर्ने , सुरक्षित ढुवानि सम्बन्धी यातायात सञ्चालनमा ध्यान दिने कार्य भैरहेको छ ।
राहत वितरण र स्वास्थ्य उपचार सम्बन्धी कार्यको लागि स्थानिय सहयोगी, व्यपारी , व्यावसायी, एनजिओ, आइएनजियो, व्यवसायी, सहकारी लगायतका विविध पक्षसँग समन्वय र सहकार्य गरी नगद तथा जीन्सी वस्तु र खाद्यन्न संकलन गरि नागरीकलाई उपलव्ध गराउने कार्य निरन्तर भैरहेको छ ।
संक्रमण रोक्न स्थानीय जनताबाट गाँउपालिकाले के अपेक्षा राखेको छ ?
यो महामारी नियन्त्रणमा हाम्रो एकल पहलबाट कुनैपनि हालतमा संभव छैन, सबैको हातेमालेले मात्रै महामारी रोक्न बल पुग्ने छ । स्थानीय तह नागरिकले नजिकबाट अनुभुति गर्न पाउने सरकार हो । स्थानीय तहलाई नागरिकले नजिकबाटै छुन, सुन्न र देख्न सक्ने सरकार हो । त्यसैले स्थानीय तहमा स्थानीय सरकार र नागरिकको बिच नजिकको गहिरो सम्बन्ध रहन्छ । आम जनताले पनि स्थानीय सरकारबाट ठुलो अपेक्षा, विश्वास र निगरानी गरिरहेका हुन्छन । यो नै स्थानीय सरकाको राम्रो गुण र सफलताको आधार हो । स्थानिय तहले कोरोना रोकथामको लागि जति प्रयास गरिरहेका छन् त्यसको सफलताको लागि स्थानीय जनताको नै प्रमुख भुमिका रहन्छ । गाँउपालिकाद्वारा गरिने सबै कार्य स्थानीय जनताको हितको लागि गरिएका हुन्छन । त्यसैले स्थानीय जनताको साथ, सहयोग, विश्वास र सक्रियता बिना यो कार्य सफल हुन सक्दैन ।
खासगरि आमनागरिकको धैर्यता, निरन्तर सामाजिक अनुशासन, सरकारले अवलम्बन गरेका स्वास्थ्य सुरक्षा सम्बन्धी उपायहरुको पालना, सामाजिक दुरिको पालना, समुदायबाट भैदिएमा हामी सबै यो संक्रमणबाट बच्न र बचाउन सक्छौ । अनावश्यक कामको लागि घरबाहिर ननिस्कने, अनावश्यक भेटघाटका लागि आफन्तकोमा पाहुना नजाने, अनावश्यक जमघट नगर्ने बानिको विकास गर्नु आवश्यक छ । चाडपर्व, मेलापर्व, विवाह, ब्रतवन्धलगायतको सामाजिक कार्यहरुमा मानिसको भिडभाड नगर्ने जस्ता पक्षमा आमनागरिकबाट अपेक्षा गरेको हुन्छ । राहत वितरणमा वास्तविक (टार्गेट ग्रुप) को व्यक्तिहरु समुदायबाट पहिचान भई आउन भन्ने अपेक्ष पनि स्थानीय तहले गरेको हुन्छ ।
परिवर्तित अर्थतन्त्रमा आम नागरिकले सो बमोजिम आफ्नो जीवन यापनको शैलि र विधिमा परिवर्त गर्नु पर्ने देखिन्छ । कोभिड १९ ले विगतको अर्थतन्त्र सम्बन्धी बानि व्यवहार, लाईफ स्टाईल, नियममा फरक ढंगले सोँच्नु पर्ने अवस्था सृर्जना गरेको छ । आम नागरिकले विश्व स्वास्थ्य संगठन, नेपाल सरकारद्वारा अबलम्बन गरिएका स्वास्थ्य सम्बन्धी सुरक्षात्मक कार्यको आत्म अनुशासित भई पालना गरुन् भन्ने पनि हाम्रो अपेक्षा छ ।
आफ्नो स्वास्थ्यको आफै सुरक्षा गर्नु पर्दछ । आफू, आफ्नो परिवारको स्वास्थ्य सुरक्षा सम्बन्धी कार्यको लागि आफै शतर्क बनाैं । अनावश्यक हल्ला, गलत समाचार स्रंप्रेषण र प्रचार प्रसार नगरौ । सामाजिक सञ्जालको जिम्मेवार ढंगबाट प्रयोग गर्ने बानिको विकास गरौ । आफू कोभिड १९ को प्रभावित हुँ जस्तो लागेमा आफै सामाजिक दुरी कायम गरी छिटो भन्दा छिटो स्वास्थ्य परीक्षणको लागि तोकिएको अस्पतालमा जाऔँ । जति सक्दो छिटो क्वारेन्टाइन, आइसोलेशन बसौ । आफैले सोचि आफ्नो कारण अरुलाई जोखिम नबढाँउ र स्वास्थ्य कर्मिको तोकिएको निर्देशन पालना गरौ ।
केन्द्रिय सरकारबाट स्थानीय सरकारलाई यो अवस्थामा के कस्ता सहयोगहरु भैरहेको छ ?
हाल नेपालमा ३ तहको सरकारको व्यवस्था गरिएको छ जसमा संघ , प्रदेश र स्थानिय तह रहेका छन् । नेपालको संविधानमा यी ३ तह विच सहकार्य , सहअस्तित्व र समवन्वयको सिद्धान्तको आधारमा सञ्चालन हुने व्यवस्था गरिएको छ । संघ, प्रदेश र स्थानीय तहको काम, कर्तव्य र अधिकारको संविधानमानै प्रष्ट उल्लेख गरि स्थानिय तहलाई थप अधिकार सम्पन्न र बलियो बनाईएको छ । संघीय शासन व्यवस्थाको परिकल्पना भएको देशमा बाह्य आक्रमण, आन्तरिक द्वन्द्व, ठुलो विपत, स्वास्थ्य सम्बन्धी जटिल समस्या, आर्थिक संकट परेको अवस्थामा संघीय सरकारको नेतृत्वदायि भुमिका महत्वपुर्ण रहन्छ ।
अहिले केन्द्रिय सरकारबाट रोकथामको लागि अबलम्बन गर्नु पर्ने मापदण्डहरु, विभिन्न निर्णयहरु प्राप्त भैरहेका छन । स्वास्थ्य सम्बन्धी मापदण्ड, कोरोना संक्रमणको बेला हुने खर्चको लागि स्रोत र खर्चका मापदण्ड तयार भै आएको हुँदा काम गर्न सहजता भएको छ । जसले देश भरी एकरुपता कायम गर्न मद्दत पुगेको छ । यसबाट हुने खर्चको नियमितता, मितव्ययीता, कार्यदक्षता, प्रभावकारिता, औचित्यता, र पारदर्शिताको पुष्टइँ गर्न सहज भएको छ । आयोजना सञ्चालनका मापदण्ड, सेवा प्रवाह गर्दा ध्यान दिनु पर्ने विषयहरुको समेतका निर्देशन प्राप्त भएका छन । विकास आयोजना सञ्चालनका मापदण्डहरु लगायतका विभिन्न नीतिगत निर्देशन प्राप्त भैरहेका छन । बजेटको व्यवस्थापनमा सहजिकरण भैरहेको छ । जोखिममा परेकालाई राहत, उद्धार सम्बन्धी कार्य, विदेशबाट नेपालीलाई स्वदेश फकाउने, अर्थतन्त्र चलायमान बनाउन,कर्मचारी र स्वास्थ्यकर्मीको उचित व्यवस्थापन गर्न मद्दत पुगेको छ ।
केन्द्रिय सरकारले अन्य के कस्ता कमद चालिदिए हुने भन्ने अपेक्षा राख्नु भएको छ ?
नेपालको संविधानले तीन तहको सरकारको व्यवस्था गरिएता पनि यस्तो जोखिम परिस्थितिमा केन्द्रिय सरकारको ठुलो भुमिका रहन्छ । समग्र देशलाई कोभिड १९ मुक्त बनाउने, अर्थतन्त्रलाई चलायमान बनाउने, आर्थिक वृद्धिदर बढाउने, राज्यद्धारा उपलब्ध गराउने सेवा प्रवाहको सुनिश्चितता गराउने, विकासका गतिविधिलाई निरन्तरता दिने जस्ता विषयमा आवश्यक कार्ययोजना सहित निर्णय गर्ने कार्यमा संघीय सरकारको ठुलो भुमिका रहन्छ ।
हालको सन्दर्भमा केन्द्रिय सरकारले कोभिड १९ को परीक्षणको दायरा सहज र थप सरल बनाई यसलाई बढाउनु पर्ने देखिन्छ । कोभिड १९ को रोकथामको लागि गर्नु पर्ने प्रयासको लागि गर्नु पर्ने कार्यहरुको निर्णय समयमै गर्ने र गरिएका निर्णय प्रभावकारी ढंगबाट कार्यान्वययन गर्न सहजिकरण गर्ने र निगरानि गर्नु पर्ने देखिन्छ । देश भरीको एकिकृत तथ्याँक संकलन गर्ने, कोभिड १९ को रोकथामको लागि संलग्न सबै निकायहरु जस्तै जिल्ला प्रशासन कार्यालय, सुरक्षासंग सम्बन्धित निकायहरु, स्वास्थ्य संस्थाहरु, स्थानीय तहलगायतका यो महामारीको रोकथम र नियन्त्रणको लागि खटिने निजी क्षेत्र, संघसंस्थाहरु सबैको बिचमा समन्वय र सहकार्य गरी एकिकृत र साझा प्रयास गर्ने वातावरण मिलाउनु आजको टड्कारो आवश्यकता देखिएको छ ।
स्वास्थ्य परीक्षण सम्बन्धी सामग्रीको सहज आपुर्ति, स्थानीय तहमा जनशक्तिको व्यवस्थापनमा समेत उचित ध्यान दिनु पर्ने देखिन्छ । एक ठाँउबाट अर्को ठाउँमा, एक जिल्लाबाट अर्को जिल्ला जाने आवातजावत गर्ने, देश बाहिरबाट नेपाल आउनेको व्यवस्थापनमा उचित ध्यान दिनु पर्ने देखिन्छ । कोभिड १९ को रोकथामको लागि विश्वव्यापी रुपमा अबलम्वन गरिएका विधिलाई हाम्रो परिवेशमा कसरी समाज अनुकुल बनाई लागु गर्न सकिन्छ थप अध्ययन गर्नु पर्ने देखिन्छ । रोजगारी सृजना गर्ने, विदेशबाट स्वदेश फर्किने व्यक्तिहरुको लागि रोजगारी व्यवस्थापन, आर्थिक अभाव र बेरोजगारीको कारण सृर्जना हुन सक्ने अपराधिक घटना नियन्त्रणमा पनि विशेस ध्यान दिनु पर्ने देखिन्छ । जोखिमको अवस्थामा हुन सक्ने आर्थिक अनियमितताको बारेमा पनि ध्यान दिनु पर्ने देखिन्छ ।
कोभिड १९ को सन्दर्भमा यसको प्रभावकमी गर्न लकडाउनको विश्वव्यापि रुपमा अबलम्वन गरिएको विधिहरु नेपाल सरकारले अबलम्वन गरेको देखिन्छ । लकडाउनको विधिबाट कोभिड १९ को फैलिने दरमा कमि देखिएतापनि यो निरोधात्मक उपाय नभएको देखिन्छ । यो सुरक्षात्मक उपाय मात्रै हो । लकडाउनको कारणले गरिव, दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने, ठुलो ऋण लगानी गरी व्यवसाय गर्नेहरु, निजी क्षेत्रमा काम गर्ने व्यक्तिहरुको आर्थिक अवस्था कमजोर बनाउदै गइरहेको छ ।
यस सन्दर्भमा कोभिड १९ को प्रभाव नियन्त्रणको अभियानसँगै आम नागरिकको आर्थिक अवस्था कसरी सुधार गर्न सकिन्छ ? देशको अर्थ व्यवस्था सुधार गरी कुल ग्राहस्त उत्पादन कसरी सुधार गर्न सकिन्छ ? नागरिकको जनजीवन कसरी र्पूबत अवस्थामै सहज र सामान्य बनाउन सकिन्छ भनि नयाँ ढंगबाट सोँच्नु पर्ने देखिएको छ । हामी सबैको साझा प्रयासबाट नै यस रोगको महामारीबाट उन्मुक्ति पाउन सहज हुनेछ । यस जोखिम परिस्थीतिमा स्थानीय तहकको थप प्रभावकारीता पुष्टाई गर्ने आधार बनेको छ । यो शंकट तथा चुनौतिलाई अवसरको रुपमा लिएर सफलताको लागि लड्न स्थानीय जनतालगायतको साथ अपरीहार्य छ ।