मकवानपुर / विगत ६ वर्षदेखि स्वास्थ्य उपचारमा समस्या भोग्दै आएको भिमफेदी कारागारमा अब छुट्टै स्वास्थ शाखा तयार गरिएको छ । कारागार भित्रको स्वास्थ्य शाखामा जानको लागि स्वास्थ्यकर्मीहरु उत्साहि नहुने र आर्थिक व्यवस्थापनमा समेत सधैंजसो समस्या हुने गरेको कारण कैदीबन्दीहरुलाई व्यवस्थित स्वास्थ्योपचार सेवा हुन सकेको थिएन ।
प्रेसर,सुगरलगायतको औषधि नियमित सेवन गर्नुपर्ने कैदीबन्दीहरुलाई समेत यस अघि औषधि उपलब्धतामा समस्या थियो । हाल कारागारको बाहिरी परिसरमा अक्सिजन सहितको २ शैयाको छुट्टै मेडीकल कक्ष स्थापना गरिएको कारागार प्रशासन प्रमुख प्रकाश खनाल बताउनु भयो । ‘कारागारको आन्तरिक प्रशासनलाई मेडीकलको व्यवस्था गर्न दिन विभिन्न चुनौति हुने देखिएपछि आफ्नै निगरानिमा रहने गरी छुट्टै मेडीकल कक्षको व्यवस्था गरे’ खानालले भन्नुभयो ।
नेपाल हेल्थ सोसाइटीको सहयोगमा एकजना स्टाफ नर्स उक्त मेडीकलमा रहने व्यवस्था प्रशासनले गरेको छ । खनालका अनुसार ८१ प्रकारका औषधिहरु हाल व्यवस्था गरिएको छ भने झण्डै ३ महिनालाई पुग्ने सेनिटाइजर मौज्दात रहेको छ । मेडीकल व्यवस्थापनको लागि छुट्टै बजेट प्राप्त नहुँदा, आन्तरीक खर्च कटौति गरेर हालको व्यवस्था गरिएको उहाँले बताउनु भयो । मेडीकल कक्ष अबकाे २/३ दिन भित्र मै सुचारु गर्ने गरी तयारी थालिएको उहाँले बताउनु भयो ।
कोरोनाबाट सुरक्षित कारागार
कारागारमा हाल ९ सय ३१ जना कैदीबन्दी रहेका छन् । हावापानीको दृष्टिले समेत अति उत्तम रहेको यो कारागारमा कैदीबन्दीको सधैं चाप हुने गरेको छ । कोरोनाको संक्रमणको कारण लकडाउन जारी रहदा पनि अदालतहरु चल्न थालेपछि कैदीबन्दीहरु ल्याउने लैजाने कार्य जारी रहने नै भयो । कारागार प्रशासनको उच्च सतकर्ताको कारण हालसम्म कारागारभित्र कोरोना संक्रमण नभेटिएको खनालले बताउनु भयो ।
उहाँका अनुसार कारागारभित्र २ वटा क्वारेण्टाइन निर्माण गरिएको छ । जसमा लकडाउनको अवधिमा ११ जनासम्म कैदीबन्दी राखिएको थियो । हाल उक्त क्वारेण्टाइनमा २ जना कैदीबन्दी रहेको खनालले बताउनु भयो । ‘कारागारमा दीर्घ रोगि तथा वृद्धहरु समेत भएकोले धेरै नै स्वास्थ्य सतकर्ता अपनाएका छौ’ उहाँले भन्नुभयो । कोरोना संक्रमणको कारण कैदीबन्दी भेटघाटमा समेत उच्च स्वास्थ्य सतकर्ता अपनाउने गरिएको उहाँले बनाउनु भयो ।
कारागार मै थन्कियो कैदीबन्दीको सिर्जना

कोरोना संक्रमणको कारण लकडाउन भएपछि कैदिबन्दीहरु पनि मारमा परेका छन् । कारागार भित्र रहदा मन बहलाउँदै तयारी गरिएको बाँसका मुडा, माला (पोते), गलैचालगायतको सामग्री खपत नभएपछि मकवानपुरको भिमफेदी गाउँपालिकामा रहेको भिमफेदी कारागारमा तयारी अवस्थाका सामग्रीहरु भण्डारणमा नै थन्किएका छन् । कोरोना संक्रमणको कारण नेपालमा लकडाउन हुनुभन्दा अगावैदेखिका उत्पादनहरु कारागारको भण्डारण कक्षमा थन्केका छन् ।
कारागारमा उत्पादन गरिएका यस्ता सामग्रीको मुख्य बजार चीन हो । चीनमा कोरोना संक्रमण सुरु भए लगतै माग आउन बन्द भएको कारागारका चौकिदार सुरेश मोक्तानले बताउनु भयो । ‘हाम्रा उत्पादनहरु अब कुहिने डर भयो, सरकारले विकल्प खोजिदिनु प-यो’ उहाँले भन्नुभयो ।
कारागार प्रशासनका अनुसार यहाँ बाँसका मुडाहरु मात्रै ३ हजार थानभन्दा बढी छन् । विश्वव्यापि माहामारीको कारण उत्पादित सामग्रीहरुको खपत रोकिएको र कच्चा पदार्थ ल्याउनमा समेत समस्या भएको कारागार प्रशासन प्रमुख प्रकाश खनालले बताउनु भयो । कार्यालय, घरहरु तथा होटलहरुमा प्रयोगमा ल्याइने ठुला मझौला तथा साना विभिन्न आकारका डाइनिङ टेबल, तथा कुर्सि आकारमा मुडाहरु कारागारमा थन्किएका छन् ।

कारागारमा निर्माण भएका मुडाहरु अतेन्तै बलियो र आकर्षक भएको भिमफेदी गाउँपालिका उपप्रमुख पार्वती रानाले बताउनु भयो । ‘एकदम राम्रा र बलिया मुडाहरु निर्माण हुन्छन् तर खपत मै समस्या देखिएको छ’ उपाध्यक्ष रानाले भन्नुभयो । कारागारमै आएपछि एकअर्काबाट सिकेर विभिन्न सिपको विकास गर्दै थोरै भएपनि आम्दानीको स्रोतको रुपमा लिइएको गलैचा उद्योगहरुको उत्पादनले बजार नपाएपछि समस्या भएको कारागारका चौकिदार मोक्तानले बताउनु भयो ।