कोरोना संक्रमणको जोखिम घटेको छैन । बरु लकडाउन खुलेपछि झन् बढेको छ । लकडाउन खुलेपनि सरकारले सवारी साधन चलाउँदा सुरक्षा विधि अपनाउनुपर्ने र तोकेका अन्य विधिसमेत अपनाउनुपर्ने भनेको छ । तर, सबै क्षेत्रमा चल्ने सवारीहरुमा सुरक्षाको व्यवस्था गरिएको छैन । सवारी साधन चढ्ने प्रत्येक व्यक्तिले समेत सुरक्षा विधि अपनाउन सरकारले अनुरोध गरेको छ तर सबै यात्रुले सामान्य मास्कको समेत प्रयोग नगर्ने गरेको पाइएको छ ।
यात्रु चढ्दा ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, चालक र सहचालकले भाइजर लगाउनु पर्ने भनिएपनि त्यो सुरक्षा अपनाइएको छैन । मकवानपुर जिल्लाको कुनै पनि क्षेत्रमा चल्न सार्वजनिक बसहरुमा सरकारले तोकेको सुरक्षा मापदण्ड पुरा गरेको देखिदैन् ।
सरकारले सार्वजनिक सवारी साधन बसमा ५० प्रतिशत थप भाडा र ट्याक्सीमा ४० प्रतिशत थप भाडा लिएर सवारी साधन सिट क्षमताको आधा संख्यामा मात्र यात्रु बोक्न पाउने तोकेको छ । जिल्लाको कुनैपनि क्षेत्रमा चल्ने बसहरुमा सवारी साधन सिट क्षमताको आधा संख्या हैन दोब्बर चढाउने गरिएको छ । सार्वजनिक सवारीको भीड हेर्दा अत्यावश्यक काम नभएकाहरुपनि रमिते बनेर यात्रा गरिरहेका देखिन्छन् ।
सार्वजनिक यातायातमा निश्चित दूरी कायम गरेर मात्र यात्रा गर्न र यात्रु चढाउन निर्देशन दिएपनि त्यो कार्यान्वन भएको छैन । सरकारले दिएको निर्देशन पालना गर्दा सरकारलाई मात्रै हैन, व्यक्ति आफैं सुरक्षित रहने हो, यसबारे विचार गरौं ।