मकवानपुर / बाढी पीडित जनताले आफूहरुलाई सरकारले वेवास्ता गरेको गुनासो गरिरहेको बेला बागमती प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले वर्षा सकिए लगत्तै बाढी पीडितहरुलाई नयाँ घरको व्यवस्था गर्ने आश्वासन दिनुभएको छ ।
बाढी र पहिरोकै बिचमा पनि सरकार हेलिकप्टर लिएर घटना स्थल पुगेको उल्लेख गर्दै मन्त्री नेपालले भने ‘कोही नहुनेको सरकार छ भन्ने आभाष तपाईहरुले गर्नु भएकै होला, अब वर्षासाम्य भएपछि पीडितको लागि नयाँ घरको व्यवस्था हुने छ ।’
साउनको पहिलो साताबाट बाढी र पहिरोका चपेटामा परेका सिन्धुपाल्चोकका जनता माझ पुग्नु भएका मन्त्री नेपालले मंगलबार यस्तो आश्वासन दिनु भएको हो । उहाँले सरकारले आवास निर्माणका लागि बजेट छुट्याइको सकेको समेत जानकारी गराउनु भयो । बाढी पहिरोको कारण पुर्ण रुपमा घरबार बिहीन भएका जनताका लागि वर्षा सकिए लगतै नयाँ घर निर्माणको लागि काम गर्ने तयारी थालेको बताउनु भयो । उहाँले आवास निर्माणको लागि पहिलो चरणमा उपयुक्त जमिन छनौटका लागि स्थानिय तहलाई जिम्मेवारी दिने काम सरकारले गरेको जानकारी दिनुभयो ।
मन्त्री बाढी पहिरोको विपद्पछि पहिलो पटक मन्त्री नेपाल आफ्नो निर्वाचन क्षेत्र भोटेकोशीका जनतामाझ पुग्नु भएको हो । मन्त्री नेपाल वर्षापछि पहिलो पटक खाद्यान्न सहितको राहत सामग्री बोकेर भोटेकोसी पुग्नु भएको थियो । मन्त्री नेपालका अनुसार बाढी पहिरोले धेरै क्षती पुगेको बाह्रबिशेका लागि २५, भोटेकोशीका लागि १५ र जुगलको लागि १० लाख रुपियाँ पठाई सकेको छ ।
सरकारले विपतमा मृत्यु भएकाको परिवाका लागि प्रतिव्यक्ती १ लाख, घाइतेका लागि उपचार खर्च २५ हजार व्यहोर्ने निर्णय गरेको छ । पहिलो चरणको रकमसँगै बाढी पहिरोले पुर्ण क्षती व्यहोरेका जनताको लागि आवास निर्माण गर्न प्राविधिक सहितको जमिन छनौंटको काम अघि बढाइएको छ ।
बाढी र पहिरोले बाह्रबिशे नगरपालिका सहित भोटेकोशी गाउँपालिकाको ५, १, ४ मा बढि मात्रामा क्षती पुगेको भोटेकोशि गाउपालिकाका उपाध्यक्ष सुशिला पाख्रीनले बताउनु भयो । उनले आवासको व्यवस्थापनका लागि जनताले आग्रह गरेका छन् । बाह्रबिशेबाट नाका तर्फ जाने बाटो उपयुक्त नभएका कारण गाउँपालिकासम्म सहयोग पुग्ने अवस्था नहुँदा पहिलो पटक आएको उपाध्यक्ष पाख्रीनले बताइन् ।