मकवानपुर/मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा थप एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणको कारण बारा जिल्लाकी १७ वर्षीय किशोरीको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालये जनाएको छ ।
मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–७ बिजौनास्थित राष्ट्रिय आधारभुत विद्यालयमा रहेको क्वारेन्टाइनबाट साउन ८ गते १५ जनाको नाक तथा घाँटीको स्वाब संकलन गरी जाँचको लागि हेटौडाको किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रमा ल्याइएकोमा आज कोरोना रिपोर्ट पोजेटिभ आएको हेटौंडाको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले जानकारी दिए ।
उनका अनुसार मनहरीका ५० वर्षीय पुरुषमा संक्रमण देखिएको हो । मनहरी गाउँपालिका -६ सुनाचुरी घर भएका उनी रोजागरीको शिलशिलामा साउदी अरबमा रहेको र लकडाउनपछि नेपाल फर्केका जानकारी प्राप्त भएको छ ।
बारा परवानीपुरकी १७ वर्षीया किशोरीको साउन ९ गते शुक्रबार गण्डक कोभिड अस्पताल (नारायणी अस्थायी कोरोना)मा उपचारका क्रममा मृत्यु भएको हो ।
तीन दिन अगाडि स्वास्थ्यमा समस्या आएपछि वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि भर्ना भएकी ती किशोरीको आरडीटी एन्टीबडी पोजिटिभ देखिएपछि कोभिड अस्पताल रिफर गरिएको थियो । किशोरीलाई कोरोना संक्रमण भएको रिपोर्ट साउन ९ गते प्राप्त भएको थियो । किशोरीलाई अक्सिजनको मात्रा कम हुनुका साथै पखाला लाग्ने, जिउ काप्ने र स्वासप्रश्वासमा समेत समस्या देखिएको प्रवक्ता डा. गौतमले बताए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ सय ९ जनामा संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा १ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ । नियमित मिडिया ब्रिफिङका क्रममा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १ सय ९ जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् ।
डा. गौतमका अनुसार नयाँ संक्रमितहरु झापा,सर्लाही,चितवन, खोटाङ,मकवानपुर, ललितपुर, अछाम, हुम्ला र तनहुँ जिल्लामा १/१ जना, काठमाडौं,अछाम, बाँके, बर्दिया र मुगु जिल्लामा २/२ जना, बैतडी, दैलेख, गुल्मी , कालीकोट र बारा जिल्लामा ३/३ जना, रौतहट, पाल्पा र नवलपरासीपूर्वमा ४/४ जान, सप्तरीमा ११ जना,पर्सा मा ८ जना, कपिलवस्तु ६ जना,दाङ ५ जना, जाजरकोटमा ६ जना, सुर्खेतमा ११ जना, डढेलधुरामा ८ जना तथा डोटीमा १३ जना रहेका छन् ।
यसैगरी पछिल्लो २४ घन्टामा १ सय ६ जना डिस्चार्ज भएका छन् । ७० दशमलव ६ प्रतिशत संक्रमित निको भएको हो । शनिबारसम्म कोरोनामुक्त भएर घर फर्किनेको संख्या १३ हजार ५३ पुगेको छ ।