हेटौँडा। हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटेबाट तेल बोक्ने टयाङकरबाट १ सय २८ किलो गाँजा बरामद गरिएको छ । प्रहरीले चेकिङका क्रममा लुकाएर ल्याएको गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशिल सिंह राठोरले जानकारी दिनुभयो ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा खटिएको प्रहरी टोलीले पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा १५ रोतोमाटेमा हेटौँडाबाट बिरगन्ज तर्फ जाँदै गरेको ना ६ ख ६९७४ नम्बरको तेल ट्याङकरलाई रोकि चेकजाँच गर्दा १ सय २८ किलो गाँजा सहित २ जनालाई पक्राउ गरेको उहाँले वताउनुभयो।
गाँजा सहित पक्राउ पर्नेमा ट्याङकर चालक जितपुर सिमरा–२३ बस्ने २७ बर्षीय एमामुल हक देवान र ट्याङकरमा सवार सोहि २४ बर्षीय मोहरवान अंसारी रहेका छन् । पक्राउ परेका उनिहरुको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लकडाउन अवधिमा मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानबाट लागुऔषध बोकेको ३ वटा तेल ट्याङकरलाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरी प्रमुख एसपी राठौरले बताउनुभयो ।
यसैगरी ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक शंकर श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले मनहरी ६ लोथरबाट ७० केजी गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । खोलाको गोरेटो बाटोमा गाँजा सहित एक जनालाई पक्राउ गरिएको हो । चितवन राप्ती नगरपालिका ११ बस्ने बर्ष ३५ को शिव तामाङले बोकि ल्याएको प्लास्टिकको बोरामा चेकजाँच गर्दा लागु औषध गाँजा ७० किलो फेला परेको हुँदा तामाङलाई उक्त लागु औषध गाँजा सहित नियंत्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको एसपी राठोरले जानकारी दिनुभयो ।