हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको सबै वडाहरुमा आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । स्थानीय नागरिकलाई आफ्नै टोलमा स्वास्थ्य सेवा दिने उदेस्यले स्वास्थ्य संस्था स्थापना गरी सेवा दिन सुरु गरिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमण झाले वताए। नगरमा स्वास्थ्य सेवा विस्तार गर्ने नीति अनुरुप चालु आर्थिक वर्षमा हेटौंडाको वडा नम्बर २,४,५,१०,१२,१६ र १९ मा सेवा बिस्तार भई काम सुरु गरिएको छ । अरु वडामा भने अघिल्लो आर्थिक वर्षबाट स्वास्थ्य सेवा दिन सुरु गरिएको थियो ।
अहिले उपमहानगरपालिकाका सबै वडाहरुमा स्वास्थ्य संस्था संचालन गरिएको र स्थानीयलाई स्वास्थ्य सेवा लिन सहज भएको मेय महतले वताउनुभयो । स्वास्थ्य संस्थाबाट प्रबाह गरिने सेवा विस्तार गर्न, प्रभावकारी र दिगो बनाउन स्वास्थ्य संस्थाहरुको छुट्टै भवन निर्माणको कार्य अघि बढाइएको झाले वताए । हेटौंडाको वडा नंम्बर १, १२, १४, १६, १८ र १९ मा स्वास्थ्य संस्थाहरुको निर्माण कार्य चालु बर्ष भित्र नै सम्पन्न हुने अवस्थामा रहेको वताइएकाे छ ।
विभिन्न किसिमका दीर्घ रोगबाट थलिएर बसेका बिरामीहरुलाई नियमित रुपमा घरदैलोमा गई स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने कार्यक्रम प्यालिएटिभ केयर संचालन गर्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग सम्झौता भई हालै प्रतिष्ठानबाट यस उपमहानगरपालिकाका ४ जना स्वास्थ्यकर्मीले आवश्यक तालीम लिएर आएको र तत्कालै सेवा सञ्चालनको लागि आवश्यक तयारी भैरहेको छ ।